झिमरुकका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई कांग्रेस नेता एवं उपाध्यक्ष पोखरेलद्वारा नगदसहित सम्मान

झिमरुक । प्यूठानको झिमरुक गाउँपालिकामा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई नेपाली कांग्रेस प्यूठानका सह–सचिव तथा झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले नगदसहित सम्मान गरेका छन् ।

पोखरेलले प्रत्येक विद्यार्थीलाई नगद ४ हजार रुपियाँ, सम्मानपत्र र खादाले सम्मान गर्दै उज्वल भविष्यको शुभकामना व्यक्त गरेका हुन् ।

सम्मानितहरूमा सुजल जिसी (सत्य मा.वि., झिमरुक–७), सुमन महतरा (सत्य मा.वि., झिमरुक–७), अञ्जु एम.सी. (प्रभात मा.वि., झिमरुक–३) रहेका छन् ।

उपाध्यक्ष पोखरेलले भने, ‘शिक्षा प्रतिको मेरो चिन्ता गहिरो छ । पढ्ने इच्छा र साहस भएका तर आर्थिक रूपले कमजोर विद्यार्थीहरूलाई सकेसम्म छात्रवृत्तिको व्यवस्था गरिदिन म जहिले पनि प्रयासरत हुन्छु ।’

पोखरेलले यस्ता बालबालिकाहरूलाई देशका कर्णधार भन्दै, जसरी भए पनि पढाउने वातावरण बनाउने बताए ।

उपाध्यक्ष पोखरेलले जनप्रतिनिधि नहुँदासमेत समाजसेवा, शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनमा निरन्तर सक्रिय भूमिका खेलेको विभिन्न मिडिया र सामाजिक सञ्जालमा देख्न सकिने बताए ।

सत्य मा.वि.का शिक्षक हेमन्त पोखरेलले सम्मानप्रति आभार प्रकट गर्दै भने, ‘सामुदायिक विद्यालयको गुणस्तर वृद्धि सबैको साझा जिम्मेवारी हो । राजनैतिक नेतृत्वदेखि अभिभावक, शिक्षक र समाजसेवीहरू मिलेर लागे मात्र उत्कृष्ट परिणाम सम्भव छ ।’

सम्मानित विद्यार्थी अञ्जु एम.सी.ले सम्मान पाएपछि हर्षित हुँदै भनिन्, ‘यो सम्मानले मलाई अझ राम्रो पढ्न हौसला दिएको छ । प्रमोद सरप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

पोखरेलद्वारा गरिएको यो सम्मान कार्यक्रम कमजोर आर्थिक अवस्था भएका तर, मेहनती विद्यार्थीहरूका लागि प्रेरणा बनेको छ ।

शिक्षा क्षेत्रमा देखाइएको यो समर्थन भविष्यमा पनि दोहोरियोस् भन्ने अपेक्षा गरिएको छ ।

Published : Wednesday, 2025 July 9, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया