ओडिसा प्रकरणमा सरकार र परराष्ट्रमन्त्री डा.राणाको पहल प्रशंसनीय छ : कांग्रेस सांसद बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले भारतको ओडिसामा प्रकृति लम्सालको मृत्युपछिको घटनाले गम्भीर बनाएको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले ओडिसामा नेपाली विद्यार्थीमाथि भएको घटनामा परराष्ट्रमन्त्री डा.आरजु राणा र नेपाल सरकारबाट भएको कुटनीतिक पहलको प्रशंसा गरेका छन् । उनले ओडिसाको घटना हुन नदिन सरकारले गम्भीर रुपमा सोँच्नुपर्ने बताएका छन् । उनले भने, ‘प्रकृति लम्सालको निधनले गम्भीर बनाएको छ ।’

‘यसमा नेपालीहरूको स्वाविभामनलाई कमजोर पार्ने गरेर अभिव्यक्ति आउन थालेको छ । युएसए आइडी लगायतका दातृ निकायको लगानीको विषयमा प्रश्न उठेको छ’, बस्नेतले भने ।

उनले भने, ‘नेपालमा विभिन्न शीर्षकमा आएका सहयोगहरू जहाँबाट आउने गरेको छ, धेरै पैसा त्यतितिर फर्किने गरेको छ । ग्लोबल फण्ड भन्ने एउटा फण्ड छ ।’

‘८ अर्ब पैसा यो देशमा लगानी भएको छ । त्यो पैसा टीबी, मलेरिया, एचआईभी एड्स न्यूनीकरणका लागि लगानी हुने हो’, बस्नेलते भने ।

सांसद बस्नेतले भने, ‘त्यो संस्थाले सेभद चिल्डेर्नमार्फत खर्च हुने ८ अर्ब पैसामा ३ अर्ब पनि खर्च नभको मलाई महशुस भयो ।’

‘त्यो विषय तत्कालीन समयमा प्रधानमन्त्री लगायत मन्त्रीहरूलाई जानकारी गराएँ । त्यो रकम नेपाल सरकारको ढुकुटीमा ल्याएर खर्च गर्नुपर्छ भन्दा मैले धेरै दवावहरू झेल्नु परेको छ’, उनले भने, ‘त्यो रकम भोटिङ गराएर भए पनि राज्यको ढुकुटीमा ल्याइएको छ ।’

उनले भने, ‘हाम्रा विद्यार्थी भारतमा मात्रै होइन । अमेरिका, अष्ट्रेलिया लगायत युरोपका विभिन्न देशमा जाने गरेका छन् । अन्यत्र मुलुकमा पनि लाखौँको संख्यामा वर्षौं पिच्छे जान्छन् । खर्बौंको पैसा बोकेर जाने हुन्छ ।’

‘चिकित्सा क्षेत्रमा यस्तो गम्भीर अवस्था रह्यो । नेपालमा यहि शिक्षा नीति रह्यो भने मेडिकल शिक्षाको क्षेत्रमा ५ वर्षपछि डाक्टर र नर्स यो देशमा पाउन सक्ने छैनौँ’, सांसद बस्नेतले भने ।

‘एउटा डाक्टरलाई ३ लाख दिँदा पनि दुर्गममा लैजान सकिदैन । समग्र शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार गर्न सकेनौँ भने प्रकृति लम्सालको जस्तो घटनाहरू भइरहनेछ’, पूर्वमन्त्री समेत रहेका कांग्रेसका सांसद बस्नेतले भने ।

उनले भने, ‘विदेश पढ्न जाने विद्यार्थीका लागि मन्त्रीहरू शाखामा पुगेर एनओसी देउ भनेर पुग्छन् । विदेशमा पढेर आएका विद्यार्थीले इकोभ्यालेन्सी नपाएको कारणले मानसिक रोगी मात्रै भएका छैनन् ठाउँठाउँमा आत्महत्या समेत गरेका छन् ।’

‘पढ्न गएको ठाउँमा अपमानित हुनुपर्ने, छोडेर हिँड्नुपर्ने, ओडिसाको विश्वविद्यालयमा पढेका विद्यार्थी को पढ्ने, को नपढ्ने, को बस्ने, को नबस्ने, तत्काल केही सुधारहरू भयो’, उनले भने, ‘कारबाहीको प्रकृया अगाडि बढ्यो । त्यसका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा र सिङ्गो सरकारलाई धन्यवाद दिन चाहन्छु । त्यहाँ अझै पनि घटना दोहोरिन सक्छ । हामी गम्भीर हुन जरुरी छ ।’

Published : Sunday, 2025 February 23, 11:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया