प्रकृति लम्साल र नेपाली विद्यार्थीलाई भारतले न्याय दिने, दोषीउपर कठोर कदम चाल्ने चेतावनी

काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ओडिसा घटनामा नेपाली छात्रा प्रकृति लम्सालप्रति संवेदना व्यक्त गरेका छन् ।

शुक्रबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जयसवालले प्रकृति लम्साल घटनाका दोषीलाई कानूनअनुसार कारबाही गरिने चेतावनी दिएका छन् ।

उनले भने, ‘भारत सरकारले हाम्रो देशमा रहेका सबै विदेशी विद्यार्थीको सुरक्षा र कल्याणलाई उच्च प्राथमिकता दिएको छ ।’

‘जहाँसम्म केआइआइटी घटनाको कुरा छ । त्यहाँको सरकार, प्रहरी र नेपाली अधिकारीहरूसँग पनि यस सम्बन्धमा निरन्तर सम्पर्कमा छौं’, प्रवक्ता जयसवालले भनेका छन् ।

‘घटनाका देखिएका आरोपीहरू र मुख्य अभियुक्त समेत पक्राउ गरिएको छ’, उनले भने, ‘नेपाली विद्यार्थीको सुरक्षा र जनकल्याणका निम्ति भारत सरकारले आवश्यक सबै कदम चाल्नेछ ।’

प्रवक्ता जयसवालले विदेशी विद्यार्थीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताए । उनले भारतमा अध्ययनरत नेपाली विद्यार्थी दुई देशबीचको सम्बन्धको कडी रहेको बताएका छन् ।

नेपाली विद्यार्थीको सुरक्षा र जनकल्याणका लागि आवश्यक सबै कदम चालिने प्रतिवद्धता उनले जनाएका छन् ।

ओडीसा सरकारले पनि उच्चस्तरीय छानबिन समिति बनाएर प्रकृति लम्साल प्रकरणको मुद्दालाई हेरिरहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले बताएका छन् ।

समितिको प्रतिवेदनको आधारमा दोषीलाई कानूनअनुसार कारबाही गरिने प्रवक्ता जयसवालले प्रतिवद्धता जनाएका छन् ।

नेपाली विद्यार्थीलाई फर्काउनका लागि ओडिसा सरकारले नै पहल थालेको उनले बताएका छन् । ‘नेपाली विद्यार्थी नेपाल फर्किसकेको अवस्था छ’, प्रवक्ता जयसवालले भने, ‘उनीहरूलाई फर्काउनका निम्ति ओडिसासा सरकारले नै पहल थालेको छ ।’

‘उनीहरूको सुरक्षा र पढाइका सम्बन्धमा पनि ओडीसा सरकारले सुनिश्चितता दिने भनेको छ’, भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भने ।

उनले नेपाली विद्यार्थीको सुरक्षाका लागि त्यहाँको स्थानीय र राज्य प्रहरी पनि २४ घण्टा सातै दिन सेवा सुरू गरेको बताएका छन् ।

१६ फेब्रुअरीमा ओडिसास्थित केआइआइटीमा अध्ययनरत प्रकृति लम्सालको शंकास्पद् मृत्यु भएको थियो । लम्सालले आत्महत्या गरेको भनिए पनि यस विषयमा अनुसन्धान भइरहेको भारतीय पक्षहरूले जानकारी दिएको छ ।

परराष्ट्रमन्त्री डा.आरजु राणाले प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थितिलाई कुटनीतिक पहलबाट समाधानका लागि विशेष कार्य गरेकी थिइन् । उनले नेपालका प्रतिनिधि खटाउनेदेखि सम्बन्धित मन्त्री र राजदूतलाई फोन गरेर नेपाली विद्यार्थीको सुरक्षाप्रति चासो र चिन्ता जनाएकी थिइन् ।

Published : Friday, 2025 February 21, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया