देशी, विदेशी शक्तिहरूले नेपाललाई कमजोर बनाए, राष्ट्रिय बृहत्तर एकता अपरिहार्य भयो : कांग्रेस नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारीले राष्ट्रिय शक्तिहरूबीचको बृहत्तर एकता र मेलमिलाप अपरिहार्य रहेको बताएका छन् ।

११३औँ वीपी जयन्तीका अवसरमा प्रेस विज्ञप्ति जारी गरेर नेता भण्डारीले देश संकटको भुमरीमा रहेको र राष्ट्रिउता निकै कमजोर अवस्थामा रहेको बताए । उनले भने, ‘नेपाल यतिबेला गम्भीर संकटको भुमरीमा छ । देशभित्र र बाहिरका कतिपय शक्तिहरूले यही मौका छोपेर नेपाललाई कमजोर बनाउन रचिरहेका अनेकौँ प्रपञ्च र खेलहरू अब कतै छिपेका छैनन् ।’

‘मुलुकको सार्वभौमिकतामाथि नै चुनौती थपिएको यस्तो संवेदनशील अवस्थामा तमाम राष्ट्रिय शक्तिहरूबीचको बृहत्तर एकता र मेलमिलाप अपरिहार्य बनेको छ,’ नेता भण्डारीले भने, ‘नेपालको आफ्नै विशिष्ट मौलिक पहिचान छ ।’

‘सदियौँदेखि कायम रहेको सनातन धर्म, परम्परा, आपसी मेलमिलाप र एकता नै हाम्रा अमूल्य सम्पत्ति हुन्,’ कांग्रेस नेता भण्डारीले भने, ‘यसमा आँच आएमा नेपाल राष्ट्रकै अस्तित्व जोखिममा पर्नेछ ।’

उनले भने, ‘देशमा स्थायी शान्ति, स्थिरता, भूराजनीतिक सन्तुलन र राष्ट्रिय अस्मिताको रक्षाका लागि राजासहितको राष्ट्रिय एकताको बाटोमा अगाडि बढ्न अब हामीले कति पनि ढिला गर्नु हुँदैन । वीपी जयन्तीको यस गरिमामय दिनले हामी सबैलाई राष्ट्र र राष्ट्रियताको रक्षाका लागि दृढ संकल्पित हुने प्रेरणा प्रदान गरोस् ।’

‘नेपाली राजनीतिका युगपुरुष एवं नेपाली कांग्रेसका संस्थापक जननायक वीपी कोइरालाको ११३औँ जन्मजयन्तीको यस ऐतिहासिक एवं पावन घडीमा म सम्पूर्ण आदरणीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ नेता भण्डारीले भने ।

‘आजको यो विशेष दिन एकातिर बीपीको वैचारिक आलोक र त्यागलाई स्मरण गर्ने दिन हो भने, अर्कोतिर देशमा विद्यमान संकट र राज्यको अकर्मण्यतामाथि गम्भीर आत्मसमीक्षा गर्ने क्षण पनि हो,’ उनले भने ।

कांग्रेस नेता एवम् पूर्वमन्त्री भण्डारीले भदौ २३ मा भएको राज्यको दमनको विरोध गरेका छन् । तर, उनले भदौ २४ गते भएको घटनालाई आत्मघाती भन्दै निन्दा गरेका छन् ।

‘गत वर्षको भदौ २३ र २४ गते भएको युवा विद्रोहको एक वर्ष पूरा भएको छ । भदौ २३ गते सुशासन कायम र भ्रष्टाचार अन्त्यको माग राख्दै भएको शान्तिपूर्ण प्रदर्शनमाथि राज्यद्वारा गरिएको दमन र नवयुवाको हत्या अक्षम्य र लोकतन्त्रकै उपहास थियो,’ नेता भण्डारीले भने, ‘उक्त घटना षडयन्त्रपूर्वक घटाइएको हो भन्ने जस्ता तर्क सरकारले अघि सारे पनि यसलाई ठीक मान्न सकिँदैन । त्यसको जिम्मेवारी तत्कालीन सरकारले लिनै पर्दछ ।’

‘भदौ २३ गतेको सोही दुखद् घटनालाई ढाल बनाएर भदौ २४ गते देशका विभिन्न स्थानमा फैलाइएको विध्वंश, अराजकता, हिंसा, आगजनी र तोडफोडका शृङ्खलाहरू निन्दनीय, आत्मघाती र आपत्तिजनक छन्,’ भण्डारीले भने, ‘हाम्रा गौरवमय ऐतिहासिक धरोहर एवं पुरातात्विक सम्पदाहरूमाथि गरिएका निर्मम प्रहार, निजी घर र सम्पत्तिमाथि आगजनी तथा तोडफोड, उद्योग प्रतिष्ठान, सञ्चार गृह तथा शैक्षिक संस्थाहरूमाथि गरिएका आक्रमण राष्ट्रघाती कदम हुन् । त्यसको जति निन्दा गरे पनि कम हुन्छ ।’

‘न्यायको खोजी गर्ने बहानामा समाजमा अराजकताको बीउ रोप्ने र राष्ट्रिय तथा व्यक्तिगत सम्पत्ति नष्ट गर्ने कार्य कदापि क्षम्य हुन सक्दैन,’ कांग्रेस नेता भण्डारीले भने, ‘म सरकारसँग यी दुवै दिनका घटनाको निष्पक्ष, उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानूनी कारबाहीको जोडदार माग गर्दछु ।’

उनले भने, ‘अन्यथा, देशमा यस्ता अराजक घटनाहरू फेरि–फेरि दोहोरिने सम्भावनालाई नकार्न सकिँदैन ।’

Published : Wednesday, 2026 September 9, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया