आईजीपी कार्कीले उद्धारमा खटिएका प्रहरी कर्मचारीहरूको हौसला बढाए, रसुवा र नुवाकोटको स्थलगत अवलोन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट, रसुवा लगायतका जिल्लाहरूको स्थलगत अनुगमन तथा अवलोकन गरेका छन् ।

शुक्रबार आईजीपी कार्कीले बाढी प्रभावित क्षेत्रहरूमा प्रहरीले गरिरहेको उद्दार, खोजी, शव व्यवस्थापन, घटनास्थल मुचुल्का, राहत वितरण लगायतका कार्यको वस्तुस्थितिको बारेमा जानकारी समेत लिएका छन् । कार्कीले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एवम् सुरक्षा निकायका प्रतिनिधिहरूसँग प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार, खोजी, राहत वितरण तथा समग्र विपद् व्यवस्थापनलाई अझ प्रभावकारी रूपमा व्यवस्थित एवम् पारदर्शी रूपमा अगाडि बढाउन छलफल गरेका छन् ।

आईजीपी कार्कीले खोज तथा उद्धार कार्यमा खटेका प्रहरी कर्मचारीहरूको हौसला बढाउँदै राष्ट्रिय विपत्तिका बेला कर्तव्य पालन गर्न निर्देशन दिएका छन् । उनले ज्यानका प्रवाह नगरी दिनरात हराइरहेका नागरिकको खोजी, उद्धार लगायतका कार्यमा खटिएका प्रहरी कर्मचारीहरूको कार्यसम्पादनको प्रशंसा गरेका छन् ।

नागरिकले नेपाल प्रहरीप्रति निकै भरोसा र विश्वास गरेको भन्दै आईजीपी कार्कीले बाढी प्रभावितहरूको खोजी, उद्धार र राहत वितरणमा जिम्मेवारी बहन गर्न निर्देशन दिएका छन् । उनले उपलब्ध साधन स्रोतलाई अधिकतम प्रयोग गरेर खोजी, उद्धार र राहत वितरणमा लाग्न निर्देशन दिएका छन् ।

आईजीपी कार्कीले जिम्मेवारी बहनका क्रममा बाढीमा परेर प्रहरी कर्मचारीहरूले सहादत प्राप्त गरेको र केही हराइरहेको भन्दै शोकलाई शक्तिमा बदलेर कर्तव्य पालनामा खटिन आग्रह गरेका छन् ।

आईजीपी कार्कीले विपद्को कठिन घडीमा राष्ट्र र नागरिकको सेवामा अझ उच्च मनोबलका साथ कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । आफ्नो ज्ञान, सीप, विवेक एवम् क्षमताको उच्चतम् प्रयोग गरी उद्दार तथा खोजी कार्यमा कुनै कसर बाँकी नराखी कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।

बाढी प्रभावित क्षेत्रहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूविरूद्ध हुन सक्ने दुर्व्यवहार, हिंसा लगायतका घटनाप्रति थप संवेदनशील भई कार्य गर्न आईजीपी कार्कीले निर्देशन दिएका छन् ।

विपद्को मौका छोपी हुन सक्ने आपराधिक क्रियाकलापहरूलाई नियन्त्रण गर्न थप चनाखो भई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उनले बताए । स्थानीय तहसँग आवश्यक समन्वय गरी राहत वितरणलाई पारदर्शी रूपमा लैजान समेत विशेष रूपमा सक्रिय भई कार्य गर्न कार्कीले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

Published : Friday, 2026 September 4, 6:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया