राष्ट्रिय विपतको बेला गगनको ‘लास र दास’ बन्यो तरुण दल, टिमभित्रै ‘टीक’ अध्यक्षको आलोचना
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र आधिकारिकताको बहसको असर पार्टीको भ्रातृ संस्था नेपाल तरुण दलमा समेत देखिएको छ ।
यतिबेला तरुण दलका दुई पक्षले छुट्टाछुट्टै रूपमा राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गरिरहेका छन् । राष्ट्रिय विपतको बेला उद्धार, राहत, पुनर्स्थापना लागयतका गतिविधिमा लाग्नुपर्ने तरुण दल गगन थापाको लास र दास बनेको भनेर आलोचना भइरहेका छन् । तथाकथित विशेष महाधिवेशन पक्षधरद्वारा ‘टीके’ अध्यक्षमा मनोनीत गरिएका मनीष कोइराला केही युवा तथा राहत सामग्रीसहित धादिङ क्षेत्रमा सक्रिय देखिएका छन् । अर्कोतिर नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन आयोजक समिति पक्षधर तरुण दलका तत्कालीन केन्द्रीय समितिका सदस्यहरू चामलका बोरा तथा अन्य राहत सामग्री लिएर नुवाकोट र रसुवातर्फ पुगेका छन् ।
‘टीके’ अध्यक्षमा कोइरालालाई गगन थापाले मनोनीत गरेपछि तथाकथित विशेष महाधिवेशनमा लागेकै तरुणहरू पनि खुसी छैनन् । कोइरालाले आफू निकटका केही तरुणहरूलाई बत्तीसपुतली लगायतका स्थानमा राखेर सम्पर्क कार्यालयको नामबाट गतिविधि गर्दै आएका छन् ।
कोइरालालाई तरुण दलको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो । अध्यक्ष नियुक्त भएको महिनौं बितिसक्दा पनि कोइरालाले तरुण दलको पूर्ण केन्द्रीय कार्यसमिति गठन गर्न सकेका छैनन् । संगठन सञ्चालन र निर्माणको कुनै अनुभव नै नभएका कोइरालालाई अध्यक्ष मनोनीत गरेर गल्ती गरेको स्वयम् तथाकथित विशेषवालाहरूलाई लागेको छ । तरुण दलको अध्यक्ष बनाउनु नै थियो भने बरु चाहे जे भए पनि कांग्रेस र तरुणहरूको भावना बुझेको सगुन श्रेष्ठ जस्ता युवालाई तरुण दलको नेतृत्व दिनुपर्ने भनेर गगन समूहभित्रै चर्चा हुन थालेको छ । कोइरालाभन्दा श्रेष्ठ तरुण दलका लागि काबिल मानिन्छन् ।
गगनले कोइरालाको आलोचना पनि सुन्न रुचाउँदैनन् । गगन र कोइरालाबीच करीव २० वर्ष पुरानो व्यक्तिगत सम्बन्ध छ । कतिपय आलोचकहरूले गगन र कोइरालाबीच व्यावसायिक साझेदारी पनि छ भनेर टिप्पणी गर्ने गरेका छन् । गगनले गोप्य बैठक र भेटघाट गर्नुपर्दा कोइरालाकै पिङ्गलास्थान, गौशालामा रहेको बुटिक होटलमा गर्ने गरेका छन् ।
कोइरालाको नेतृत्व क्षमता र संगठन सञ्चालनसम्बन्धी अनुभवमाथि संगठनभित्रै प्रश्न उठ्न थालेपछि गगन तनाबमा छन् । कोइरालाको कार्यसम्पादनबाट गगन सन्तुष्ट पनि छैनन् ।
त्यति मात्र होइन, नेपाल तरुण दलजस्तो देशव्यापी र लामो राजनीतिक इतिहास बोकेको संगठनका गतिविधि तथा निर्णयहरू केन्द्रीय कार्यालयबाट व्यवस्थित रूपमा सञ्चालन हुनुपर्नेमा कतिपय विज्ञप्ति र पत्राचार केन्द्रीय कार्यालयको साटो सम्पर्क कार्यालयको नामबाट जारी भएको देखिनु पनि संगठनात्मक गम्भीरताको विषय बनेको छ ।
राजनीतिक दलको एउटा ठूलो भ्रातृ संस्थाका रूपमा रहेको तरुण दलको संस्थागत निर्णय, बैठक तथा पत्राचार स्पष्ट संगठनात्मक संरचना र सामूहिक निर्णय प्रक्रियाबाट सञ्चालन हुनुपर्ने अपेक्षा गरिन्छ । कोइराला नेतृत्वमा सार्वजनिक भएका कतिपय बैठकसम्बन्धी विज्ञप्तिहरूमा सीमित व्यक्तिको सहभागिता वा एकल निर्णयको झल्को देखिने गरेको भन्दै आलोचना भइरहेका छन् ।
संगठनभित्रका कतिपय नेताहरूले यसलाई सामूहिक राजनीतिक संगठनभन्दा निजी संस्था सञ्चालनको शैलीसँग तुलना गर्न थालेका छन् । तरुण दललाई कोइरालाले गगनको ‘लास र दास’ बनाएको भनेर तरुणहरूले आलोचना गर्न थालेका छन् ।
तरुण दलको बैठक, निर्णय र संगठनात्मक गतिविधिमा केन्द्रीय समितिको व्यापक सहभागिता नदेखिनु तथा पूर्ण कार्यसमिति गठन नहुनुले संगठनको वैधानिक र संस्थागत संरचनामाथि समेत प्रश्न उठेको छ ।
नेपाल तरुण दलजस्तो ठूलो युवा संगठनलाई अध्यक्षको व्यक्तिगत पहुँच र सीमित सहयोगीको भरमा सञ्चालन गर्न खोज्दा संगठनको आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रिया र संस्थागत मर्यादामाथि असर पर्ने चिन्ता नेताहरूले व्यक्त गरेका छन् ।
कोइराला पक्षका तरुण नेताहरूले सानेपाको निर्णयानुसार आफूहरूले वैधानिक रूपमा तरुण दलको नेतृत्व गरिरहेको बताउँदै आएको छ । कोइरालाले पार्टीले दिएको जिम्मेवारीअनुसार संगठनलाई पुनः व्यवस्थित गर्दै महाधिवेशनको तयारीमा केन्द्रित रहेको उनीहरूको दाबी छ ।
अर्कोतर्फ, शेरबहादुर देउवा पक्षले भने तत्कालीन अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिए पनि तत्कालीन ४०१ सदस्यीय केन्द्रीय समितिका बाँकी सदस्यहरू यथावत रहेको दाबी गर्दै आएका छन् । शेरबहादुर देउवा पक्षीय तरुण दलका नेता दिल लामासहितका तरुणहरू चुनदेवीबाट सशक्त रुपमा संगठनात्मक गतिविधिहरू गरिरहेका छन् ।
तत्कालीन तरुण दलकी केन्द्रीय सदस्य अम्बिका बास्कोटाले अध्यक्षको राजीनामा वा पद रिक्त हुँदैमा सम्पूर्ण कार्यसमिति स्वतः समाप्त नहुने दाबी गरेकी छिन् । बास्कोटाले भनिन्, ‘गगन थापा र उहाँको समूहलाई विधि र विधानको कुनै प्रवाह छैन । उहाँहरूलाई जसरी भए पनि पार्टी कब्जा गर्न पाए भयो भन्ने देखिन्छ । पार्टी वा संगठनको प्रमुख तथा अध्यक्षले राजीनामा दिँदा उक्त पद खाली हुने हो, सम्पूर्ण समिति विघटन हुँदैन । त्यसैले हाम्रो ४ सय सदस्यीय केन्द्रीय समिति यथावत छ ।’
देउवा पक्षसँग निकट रहेको दाबी गर्ने तत्कालीन केन्द्रीय सदस्यहरू शुभराम बस्नेत, दिल लामा, अम्बिका बास्कोटा, रोशन पाण्डे, रत्न महर्जन, तीर्थ गौतम, रोहित लामा, जयराम दाहाल र निरज महर्जनलगायतले आफूहरू नै नेपाल तरुण दलको आधिकारिक केन्द्रीय समिति भएको दाबी गर्दै राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गरिरहेका छन् ।
तरुण दलभित्र दुई पक्षले समानान्तर रूपमा आफ्नो वैधानिकता दाबी गर्दै गतिविधि सञ्चालन गरिरहेका छन् । एकातिर पार्टीको निर्णयअनुसार भन्दै कोइरालाले अध्यक्षका रूपमा संगठन सञ्चालन गरिरहेका छन् । अर्कोतिर पुरानो केन्द्रीय समितिका अधिकांश सदस्यहरू आफ्नो समिति यथावत रहेको दाबी गर्दै छुट्टै गतिविधिमा छन् ।
तरुण दलको तत्कालीन सिनियर पदाधिकारीहरू रोजन राई, केदारमानसिंह बस्नेत, दिनेशकुमार राई, प्रकाश महर्जन, वीरेन्द्र सल्यानी, संजय सिलवाल र नवीन राईलगायत भने हालसम्म खुलेर कुनै पक्षको गतिविधिमा देखिएका छैनन् । तरुण दलको गतिविधिमा प्रत्यक्ष संलग्न नदेखिए पनि उनीहरूको समर्थन कोइराला पक्षलाई छैन । उनीहरू तथाकथित विशेष महाधिवेशनको विपक्षमा छन् ।
कोइरालाको नियुक्ति प्रक्रिया, संगठनात्मक पृष्ठभूमि तथा संगठन सञ्चालनमा देखिएको अपरिपक्कताका कारण सिनियर तरुण नेताहरू असन्तुष्ट छन् ।
राहत सामग्री बोकेर विभिन्न जिल्लामा पुग्ने गतिविधिदेखि संगठनको वैधानिकतासम्म अहिले तरुण दल दुई धारमा देखिएको छ । कांग्रेसको मूल विवादको छाया तरुण दलमा पनि परेपछि संगठनभित्रको नेतृत्व, संरचना र आधिकारिकताको प्रश्न थप पेचिलो बन्दै गएको छ ।
अब तरुण दलको विवाद समाधान गर्ने जिम्मेवारी केवल कुन पक्षले आफूलाई आधिकारिक दाबी गर्छ भन्ने विषयमा मात्र सीमित छैन । ठूलो राजनीतिक युवा संगठनको संस्थागत गरिमा जोगाउने, सामूहिक नेतृत्व स्थापित गर्ने र स्पष्ट संगठनात्मक संरचनासहित महाधिवेशनतर्फ अघि बढ्ने चुनौती पनि नेतृत्वसामु उत्तिकै गम्भीर रूपमा खडा भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया