वैदेशिक रोजगारीमा ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१ बस्ने सिराहा घर भएका ४३ वर्षीय हर्षनारायण चौधरी, काठमाडौं महानगरपालिका–३२ बस्ने म्याग्दी घर भएका ४१ वर्षीय पदमबहादुर खड्का क्षेत्री र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने सप्तरी घर भएका ४८ वर्षीय शिवनारायण चौधरी रहेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूले आर्षक तलबको प्रलोनमा पारेर पीडितहरूबाट रकम लिएर सम्पर्क विहीन भएका थिए ।

पक्राउमध्ये हर्षले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपियाँ, पदमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख १० हजार रूपियाँ र शिवले अजरबैजान पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २२ लाख ४६ हजार रूपियाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले हर्षलाई काठमाडौं महानगरपालिका–१६ बाट र पदमलाई काठमाडौं महानगरपालिका–३२ बाट बिहीबार तथा शिवलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–४ बाट शुक्रबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Saturday, 2026 August 15, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया