देउवाको नेतृत्वमा आएको ८९ सिटबाट कांग्रेसलाई पपुलर हौँ भन्नेहरूले ३८ सिटमा झारे : नेता साउद

काठमाडौं । नेपाली कांग्रेसका नेता एन.पी. साउदलले पपुलर हौं, हाम्रो अनुहार बिक्छ भन्नेहरूको दाबी निर्वाचनको नतिजाले भ्रम रहेको पुष्टि भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता साउदले भने, ‘पपुलर हौं, हाम्रो फेस बिक्छ भन्ने कुरा हाम्रा युवाहरूको दाबी थियो भने पनि त्यो दाबी भ्रम देखियो ।’

‘त्यो एउटा भ्रम र मिथकभन्दा ज्यादा प्रभाव राख्ने रहेनछ भन्ने प्रमाण गएको निर्वाचन भएको छ,’ नेता साउदले भने ।

केही नेताको महत्वाकांक्षका कारण निर्वाचनको मुखमा विशेष महाधिवेशन गरेका कारण त्यस्तो अवस्था आएको उनले बताए । उनले भने, ‘केही साथीहरू महत्वाकांक्षा र पदको लोभले बडो अन्धो भएको मानसिकताले उहाँहरू जानुभयो । चुनावको मुखमा कांग्रेसका मनलाई विभाजन गर्नुहुन्न भन्नेतिर उहाँहरू जानुभएन ।’

चुनावमा २७ लाखबाट १७ लाख मत आएको उनले बताए । ‘शेरबहादुर देउवाको नेतृत्वमा आएको ८९ सिटबाट ३८ सिटमा हाम्रो संसद्को उपस्थिति देखिएको छ,’ नेता साउदले भने ।

यसबीचमा पार्टी नटुटोस भनेर निर्वाचन आयोगको निर्णयबमोजिम निर्वाचनमा गएको उनले बताए । ‘हामीले उहाँहरूलाई नियमित र विशेष महाधिवेशनका पक्षमा रहेका सबै साथीलाई मिलाउनुस् भनेर आग्रह ग¥यौं । तर, उहाँहरू पार्टी विभाजन गर्नेमा कृतसंकल्प गरेकाले पार्टी मिलाउनेमा कुनै पहलकदमी गर्नुभएन,’ उनले भने ।

सार्थक पहल नगरेकाले आफूहरू सर्वोच्चमा मुद्दा पुनरवलोकनमा गएको उनले बताए । ‘अब पुनरवलोकन अगाडि पार्टी एकता हुन गाह्रो छ । त्यो मुद्दाको सर्वोच्चले निर्णय दिएपछि मात्रै एकताको राजनीतिक निर्णय हुनेछ,’ उनले भने ।

जबसम्म १४औँ महाधिवेशनको कार्यसमिति पुनःस्थापित गरिन्न तबसम्म कांग्रेसको एकता नहुने पनि नेता साउदले बताए ।

‘१४औँ महाधिवेशन मात्रै त्यस्तो थलो हो जहाँ विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधर सम्मिलित थियौं,’ नेता साउदले भने ।

Published : Saturday, 2026 August 15, 12:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया