कांग्रेसको आन्तरिक विवाद समाधानमा शेरबहादुर दाईको भूमिका रहनेछ : नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक विवाद समाधान गर्दै राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्ने बताएका छन् ।

बिहीबार सभापति देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका नेता खतिवडाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पछिल्लो समय मुलुकले देउवाको अभाव महसुस गरिरहेको बताए ।

देउवाको पुनरागमनले पार्टी पंक्तिमा नयाँ उत्साह थपेको नेता खवितडाले बताएका छन् ।

‘नेपालको वर्तमान राजनीतिमा जीवित नेताहरूमध्ये सबैलाई मिलाएर लैजान सक्ने उच्च क्षमता र अनुभव देउवासँग मात्र छ,’ नेता खतिवडाले भने, ‘पार्टीभित्रका असमझदारी सुल्झाउन र राष्ट्रिय राजनीतिलाई सही दिशा दिन उनको भूमिका अतुलनीय हुनेछ ।’

विदेशमा उपचार गराएर पूर्ण स्वास्थ्य लाभ गरी फर्किएका सभापति देउवालाई विमानस्थलमा हजारौँ नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् ।

मुलुकमा राजनीतिक अस्थिरताको वातावरण कायमै रहेको र जनतामा आशाका किरण छर्न कठिन भइरहेको अवस्थामा देउवाको अनुभवले सबै दलहरूबीच मेलमिलाप र एकता कायम गर्न मद्दत पुग्ने खतिवडाले बताएका छन् ।

Published : Thursday, 2026 August 13, 6:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया