रविले बेलाबेला सचेत गराउँदा पनि काण्डमा मुछिएका सांसद सुनार सुध्रिएनन्, रास्वपालाई बद्नाम गराए

काठमाडौं । नेपाल प्रहरीको मानमर्दन र हतोत्साहित गतिविधि गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार निकै विवादित व्यक्ति हुन् ।

नेपाली कांग्रेसको राजनीतिक पृष्ठभूमिका सुनारले कांग्रेस पार्टी परित्याग गरेर सामाजिक अभियन्ता बनेका थिए । त्यसपछि उनी रास्वपामा प्रवेश गरेर टिकट लिएर बाँकेबाट निर्वाचित भएका थिए । सांसद भइसकेपछि पनि सुनारमा सुधारका कुनै संकेत देखिएका छैनन् । आफ्ना अराजक र उत्तेजित अभिव्यक्तिले सुनार बेलाबेला विवादमा आइरहन्छन् ।

केही दिन अगाडि विश्वकर्मा समाजले आयोजना गरेको कार्यक्रममा आयोजकहरूको हुर्मत लिने गरेर आलोचना गरेका थिए । बोल्ने माइक पाउनेवित्तिकै सांसद सुनारले के बोल्छन् भन्ने कुरा आफैलाई थाहा हुँदैन ।

बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले दिएको अभिव्यक्ति निकै आलोचित बनेको छ । बेनामको प्रमाणविहीन उजुरीको आधारमा सांसद सुनारले प्रहरी संगठन र आईजीपी दानबहादुर कार्कीविरुद्ध जथाभावी अभिव्यक्ति दिएका थिए । प्रहरी संगठनलाई जथाभावी प्रमाणविहीन आरोप लगाएर आईजीपी कार्कीको जवाफ नै नसकेर सांसद सुनार लेखा समितिको बैठक बहिस्कार गरेर बाहिरिएका थिए । नेकपाका सांसद वर्षमान पुनले सांसद सुनारलाई प्रहरी संगठनलाई जथाभावी आक्षेप लगाएर सम्बन्धित पक्षको कुरा नसुनेर बैठक बहिस्कार गर्न नमिल्ने बताएका थिए ।

रास्वपाको सांसद हुनुभन्दा अगाडि सुनारले विभिन्न अभियोगमा मुद्दाहरू खेपिसकेका छन् । कतै उनीविरुद्ध मुद्दा विचाराधीन छन् । कतै उन्मुक्ति पाएका छन् । कतै धरौटीमा छुटेका छन् ।

विक्रम संवत् २०४७ जेठ २ गते दैलेखमा जन्मिएका सुनारका बाबु कमानसिं सुनार हुन् । नारायण नगरपालिका वडा नं. २ भैसेखोर, दैलेख स्थायी ठेगाना भएका सुनार बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा रास्वपाबाट टिकट लिएर निर्वाचित भएका हुन् ।

सुनारविरुद्ध जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा २०८० असार ३ गते सार्वजनिक शान्तिविरुद्धको कसूरमा मुद्दाको अभियुक्तको मुद्दा चलेपछि असार ११ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतको आदेशले २० हजारमा धरौटीमा छुटेका थिए ।

सुनार २०८१ असार ७ गते मेहेलकुना अस्पताल, गुर्भाकोट नगरपालिका– ८, सुर्खेतको अस्पतालमा चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई अभद्र व्यवहार गरेको, ‘स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात’ शीर्षकमा मुद्दाको अभियुक्त पनि हुन् । यो मुद्दा अदालतमा विचाराधीन रहेको छ ।

विद्युतीय कारोबार सम्बन्धी मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अधिवक्ता मनीषा गौतमले सामाजिक सञ्जालमा आफूलाई अपमानजनक÷आपत्तिजनक भाषा प्रयोग गरेको आरोपमा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा कारबाही गरी पाउँ भनी २०८२ साउन २ गते अदालतमा मुद्दा दर्ता गरेकी छिन् । सुनारविरुद्ध पक्राउ पुर्जी जारी समेत भएको थियो । २०८२ साउन ५ गते काभ्रे जिल्ला अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

२०८२ कात्तिक १३ गते अदालतमा उपस्थित भएर बयान दिएपछि सुनासर सो दिन बयान तथा थुनछेक बहसपछि काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले रु. ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपीलाई सांसद सुनारले केही महिना अगाडि कठालोमा समातेर घिसार्छु भनेर अभिव्यक्ति दिएका थिए । सुनारको सो अभिव्यक्तिको पनि आलोचना भएको थियो ।

रास्वपाका सभापति रवि लामिछाने समेत सांसद सुनारका यस्ता हर्कत र गतिविधिबाट दिक्क भएका छन् । बेलाबेला सभापति लामिछानेले सांसद सुनारलाई सचेत गराउँदै आएका छन् । तैपनि सांसद सुनारमा सुधार भइरहेको छैन । सांसद सुनारका कारण रास्वपाको बद्नाम भइरहेको छ ।

Published : Wednesday, 2026 August 12, 11:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया