लुम्बिनीका मुख्यमन्त्रीले भदौ १ गते विश्वासको मत लिने, सत्तामा एमाले–नेकपा, कांग्रेस आउट

मसुरिया । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सभाको सचिवालयलाई पत्र पठाएर भदौ १ गते विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

बुधबार प्रदेश सभा सचिवलाई पत्र पठाएर मुख्यमन्त्री आचार्यले भदौ १ गते आफूले विश्वासको मत लिन लागेको र सोही अनुसारको व्यवस्था गर्न सूचित गरेका हुन् । एमालेबाट मुख्यमन्त्री आचार्यले दोस्रो पटक मुख्यमन्त्रीको विश्वासको मत लिन लागेका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्नेछन् ।

‘प्रस्तुत विषयमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सम्वत २०८१ साल श्रावण ७ गते म लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएको र हाल प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मत प्राप्त गर्नु पर्ने व्यवस्था भएकोले सम्वत् २०८३/०५/०१ गते सोमबारका दिन प्रदेश सभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने व्यवस्था गर्नु हुन सूचित गरेको छु,’ मुख्यमन्त्री आचार्यले पत्रमा भनेका छन् ।

यसअघि एमाले र नेपाली कांग्रेसको गठबन्धनमा सरकार बनेको थियो । केही दिन अगाडि एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच सात प्रदेशमा सत्तासाझेदारी गर्ने लिखित सहमति भएपछि कांग्रेसलाई सरकारबाट बाहिरिएको छ । कांग्रेसले दिएको समर्थन पनि फिर्ता लिएको छ । पूर्वसहमतिअनुसार एमालेले नेपाली कांग्रेसलाई मुख्यमन्त्रीसहित सरकारको नेतृत्व दिनुपर्ने थियो । गठबन्धन नै भत्किएपछि कांग्रेस सत्ताभन्दा बाहिर पुगेको छ ।

एमाले र नेकपा मिलेर लुम्बिनी प्रदेशमा सरकार बनाउन लागेका छन् । दुई दलबीचको भागबण्डाअनुसार लुम्बिनी प्रदेशमा एमालेले मुख्यमन्त्री पाएको छ ।

Published : Wednesday, 2026 August 12, 12:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया