प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवद्वारा शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेट भएको छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत श्रीवास्तवबीच भेट भएको हो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दुई देशबीचको सम्बन्धका विषयमा कुराकानी भएको छ ।

भेटवार्ताका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्री शाहको निजी सचिवालयले जनाएको छ । राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका छन् ।

प्रधानमन्त्री शाहले छिमेकी राष्ट्र भारतको भ्रमणको चर्चा चलिरहेका बेला राजदूत श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

Published : Monday, 2026 August 10, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया