जेनजी आन्दोलनमा क्षति भएको काँडाघारी प्रहरीको भवन पुनर्निर्माणपछि हस्तान्तरण

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी प्रभाग, काँडाघारीको पुनर्निर्माण सम्पन्न भएको भवनलाई उद्घाटन गरी हस्तान्तरण गरेका छन् ।

भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको प्रहरी प्रभाग काँडाघारीको भवन पुनर्निर्माण गरिएको हो ।

प्रहरीको भवन पुनर्निर्माण गर्नु केवल एउटा भौतिक संरचना निर्माण गर्नु मात्र थिएन । यो स्थानीय सरकार, समुदाय, प्रहरी र सामाजिक संघ–संस्थाबीचको सहकार्य र जिम्मेवारीबोधको उदाहरण पनि हो ।

स्थानीय तह, टोल सुधार समिति, स्थानीयवासी तथा विभिन्न संघ, संस्थाको सहयोग र सहकार्यबाट क्षतिग्रस्त भवनलाई पुनः सञ्चालनयोग्य बनाइएको छ ।

कठिन परिस्थितिमा पनि सार्वजनिक संरचनाको पुनर्निर्माणमा हातेमालो गर्ने सबै सहयोगी मनहरू धन्यवादका पात्र रहेको मनोहरा कागेश्वरी नगरपालिकाका मेयर उपेन्द्र कार्कीले बताएका छन् ।

भवन निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने स्थानीय प्रतिनिधि, टोल सुधार समिति, संघ, संस्थाका पदाधिकारी तथा सहयोगीहरूलाई आईजीपी कार्कीले कदरपत्रसहित सम्मान गरेका छन् ।

‘सार्वजनिक सम्पत्ति राज्यको मात्र होइन, हामी सबैको साझा जिम्मेवारी हो,’ आईजीपी कार्कीले भने, ‘स्थानीय सरकारको दायित्व विकास निर्माणसँगै नागरिकको सुरक्षा, शान्ति र सुव्यवस्था कायम गर्न आवश्यक सबै पक्षसँग सहकार्य गर्नु पनि हो ।’

‘काँडाघारी प्रहरी प्रभागको पुनर्निर्माणले प्रहरी र समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउँदै सुरक्षित, व्यवस्थित र जिम्मेवार समाज निर्माणमा थप ऊर्जा प्रदान गर्ने विश्वास लिएको छु,’ मेयर कार्कीले बताए ।

Published : Sunday, 2026 August 9, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया