कांग्रेस नेता सिंह जंगलमा मृत भेटिए

चन्द्रौटा । कपिलवस्तु नगरपालिकाका पूर्वी मेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा भेटिएका छन् ।

शुक्रबारदेखि हराइरहेका सिंह आइतबार जंगलमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सिंहको खोजीमा प्रहरीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुर झिकाएर परिचालन तथा ड्रोनबाट समेत निगरानी गरेको थियो ।

शुक्रबार मोटरसाइकलसहित गएका नेता सिंह वेपत्ता भएपनि सोही ठाउँमा मोटरसाइकल भेटिएको थियो ।

तौलिहवा–गोरुसिंगे क्षेत्रको जंगलमा हराएका सिंहको खोजीमा सबै विधि अपनाएपछि शव भेटिएको छ । आइतबार मृत अवस्थामा नेता सिंह भेटिएको कपिलवस्तु प्रहरीका निमित्त सूचना अधिकारी दीपक कुँवरले बताएका छन् ।

प्रहरीका अनुसार ६५ वर्षीय सिंह अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । साढे तीन बजेतिर उनले आफू निकटका केही व्यक्तिहरूलाई ‘जंगलमा बाटो बिर्सिएँ’ भनेर मोबाइलमार्फत् जानकारी दिएका थिए ।

सिंहका आफन्तसहितको टोली खोजीमा निस्किँदा पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।

Published : Sunday, 2026 August 9, 1:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया