मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने, बागमती कांग्रेसले अन्य दलहरूसँग वार्ता गर्ने

जावलाखेल । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको मत लिने भएका छन् ।

शनिबार काठमाडौंमा बसेको कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मत भदौ ३ गतेभित्र लिने निर्णय गरेको संसदीय दलका सचिव एवम् बागमती प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए ।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ साउन ६ गतेबाट अल्पमतमा छन् । मुख्यमन्त्री बानियाँले भदौ ४ गतेभित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

एमालेले कांग्रेससंगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग मिलेर नयाँ सरकार बनाउन साझेदारी गरेको छ । यो अवस्थामा कांग्रेसले साना दलको समर्थनमा सरकार टिकाउने रणनीतिमा छ । एमाले र नेकपाको सरकार गठनको अवस्था पनि अन्योल बनेको छ ।

एमाले र नेकपाले सरकार बनाउने विषयमा बुहमत पुग्ने सम्भावना निकै न्यून छ । सोही कारण पनि मुख्यमन्त्री बानियाँले भदौ ३ गतेभित्र विश्वासको मत लिने निर्णय गरेका छन् ।

बैठकले विश्वासको मत लिनु एक दिन अगाडि नै हेटौँडामा उपस्थित हुन सांसदहरूलाई ह्विप जारी गरेको कांग्रेस संसदीय दलका सचिव महर्जनले बताएका छन् ।

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत पुर्‍याउन कांग्रेसको शीर्ष नेतृत्वसहित अन्य दलका नेताहरूसँग समन्वय तथा छलफल गर्ने निर्णय भएको सचिव महर्जनले बताए ।

Published : Saturday, 2026 August 8, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया