पूर्वसांसद राणाद्वारा समाजसेवी प्रसाईंको पक्राउको विरोध

काठमाडौं । पूर्वसांसद धवलशम्शेर राणाले मेडिकल व्यवसायी समेत रहेका समाजसेवी दुर्गा प्रसाईंको पक्राउको विरोध गरेका छन् ।

सोमबार प्रेस विज्ञप्ति जारी गरेर राणाले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेर दिएको अभिव्यक्तिकै कारण प्रसाईंलाई पक्राउ गरिएकोमा आपत्ति जनाएका हुन् ।

पूर्वसांसद राणाले भने, ‘विश्वव्यापी रूपमा स्थापित मानव अधिकार र संविधानप्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण राष्ट्रवादी नेता दुर्गा प्रसाईंलाई सरकारले हिजो साउन १७ गते राति उहाँको निवासबाट पक्राउ गर्नु निन्दनीय छ । उहाँको तत्काल रिहाइको लागि सरकारको ध्यानाकर्षण गर्दछु ।’

झण्डै दुईतिहाइको बहुमतको रास्वपाको सरकारले आइतबार राति समाजसेवी प्रसाईंलाई अभिव्यक्ति दिएकै आरोपमा पक्राउ गरेको छ ।

‘विविध आस्था, धर्म, संस्कृति, परम्पराबीचको सद्भाव, सम्मान र मिलन नेपाली समाजको मौलिक चरित्र हो,’ राणाले भने, ‘सामाजिक संहिष्णुता र सद्भावको विरासत बचाएर राख्नु हामी सबैको साझा कर्तव्य हो ।’

‘पछिल्ला दिन देशका केही भूभागमा देखिएको आपसी द्वन्द्व, झडप, आगजनी र जनधनको क्षतिबाट हामी सबै चिन्तित छौं,’ पूर्वसांसद राणाले भने, ‘यस संवेदनशील घडीमा नागरिकको जिउधन सुरक्षाको प्रत्याभूति माग गर्नु, दिगो शान्तिको अपेक्षा राख्नु, सरकारको जवाफेहिताका लागि पहरेदारी गर्नु नागरिकको कर्तव्य हो ।’

‘आलोचना, फरक मत, मत–अभिमत लोकतान्त्रिक पद्धतिका आधारस्तम्भ हुन्,’ राणाले भने, ‘नागरिकप्रति सरकारको जवाफदेहिता, प्रजातान्त्रिक सन्तुलन र समाजको उन्नति–प्रगतिका लागिसमेत विचार एवं अभिव्यक्ति स्वतन्त्रता आधारभूत छन् ।’

उनले भने, ‘सरकारको आलोचना गर्नै नपाइने हो भने, त्यस्तो शासन प्रणाली लोकतान्त्रिक रहन सक्दैन ।’

Published : Monday, 2026 August 3, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया