विदेशीको हस्तक्षेपमा नेपाललाई असफल राष्ट्र बनाउने योजना भयो : दुर्गा प्रसाईं

काठमाडौं । सामाजिक अभियन्ता एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपाललाई असफल राष्ट्र बनाउने योजनामा विदेशी हस्तक्षेप गराउने प्रयास भइरहेको बताएका छन् ।

आइतबार पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले आफूहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग हिन्दु अधिराज्य स्थापनाका विषयमा यसअघि नै सहमति गरेको दाबी गरे । उनले वार्ताबाट पछि हट्न खोजेको पनि बताएका छन् ।

प्रसाईंले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङलाई लक्षित गर्दै सत्ता केवल प्रहरी, सेना वा बन्दुकले मात्रै नचल्ने भन्दै नेपालको पहिचान वैदिक सनातन, किरात तथा बौद्ध सभ्यतासँग जोडिएको हुँदा ती कुरालाई बेवस्ता गर्न नहुने बताए ।

समाजसेवी प्रसाईंले प्रधानमन्त्रीले हिन्दु राष्ट्र पुनःस्थापना हुन नसक्ने अभिव्यक्ति दिएको बताए । उनले त्यसप्रति असन्तुष्टि जनाउँदै नेपाल हिन्दु राष्ट्र हुन नसक्ने भए त्यसको विकल्प के हो बताउनुपर्ने जिज्ञासा राखेका छन् ।

केवल धार्मिक पहिरन वा रुद्राक्षको माला लगाउँदैमा हिन्दु नहुने भन्दै उनले धार्मिक पहिचानको नाममा समाजलाई विभाजित गर्न खोजिएको बताएका छन् ।

Published : Sunday, 2026 August 2, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया