कांग्रेस निकट जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा दाहालको उम्मेदवारी

न्युयोर्क । नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्डका गौतम दाहालले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली जनसम्पर्क समिति, अमरिकाको तेश्रो केन्द्रीय अधिवेशन अगष्ट १४, १५ र १६ तारिख अमेरिकाको भर्जिनिया राज्यमा सम्पन्न हुन लागिरहेको छ । दाहाल केन्द्रीय अधिवेशन तयारी समितिका सदस्य सचिव हुन् ।

आफ्नो उम्मेदवारी घोषणासँगै दाहालले समितिको नेतृत्वमा रहेर आफूले काम गर्न चाहेको बताएका छन् । सांगठिनक संरचनालाई मजबुत बनाउने, नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्वन्ध विस्तार गर्ने, दोश्रो पुस्तालाई विभिन्न फोरमहरूमा सक्रिय बनाउने लगायतका एजेन्डा उनले तय गरेका छन् ।

आर्थिक पारदर्शीतालाई आफ्नो एजेण्डाको प्रमुख प्राथमिकतामा राखेको उनले बताए । दाहालले भने, ‘आर्थिक अनुशासन र पारदर्शितालाई म पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु ।’

दाहालले अमेरिकामा रहेका विभिन्न च्याप्टरहरूको सहकार्य र सहभागितामा प्रविधीमैत्री कार्यक्रमहरू सञ्चालन गर्ने आफ्नो एजेण्डामा उल्लेख गरेका छन् । उनको अमेरिकामा बसेर विभिन्न क्षेत्रमा ख्याति कमाएका, अनुभवी व्यक्तित्वहरूको समेत सहभागिताामा थिङ्क टयांक स्थापना गरेर विभिन्न विषयमा औपचारिक धारणाहरू समेत सार्वजनिक गरिने उल्लेख गरेका छन् ।

ओखलढुङ्गामा जन्मिएका दाहाल विद्यार्थी जीवनसँगै नेपाल विद्यार्थी संघमार्फत् सक्रिय रहेर काम गरेका जुझारु व्यक्ति हुन् । नेपाल विद्यार्थी संघ ओखलढुङ्गाको जिल्ला सदस्य, नेपाल विद्यार्थी संघ ओखलढुङ्गा–काठमाडौं सम्पर्क समितिको सभापति समेत भएर काम गरिसकेका दाहाल तत्कालीन अर्थ राज्यमन्त्री गोपाल राइको प्रेस सल्लाहकार समेत थिए ।

दाहाल विगत २१ वर्षदेखि अमेरिकामा बसोवास गर्छन् । नेपाली जनसम्पर्क समिति, अमेरिकाको विभिन्न जिम्मेवारीमा रहेर निरन्तर काम गर्दै आइरहेका छन् ।

Published : Saturday, 2026 August 1, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया