देउवा पक्षीय नेताहरूको राष्ट्रिय भेला सफल बैतडी कांग्रेसले बनायो समितिहरू

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूको यही साउन २९ गतेदेखि ३१ गतेसम्म काठमाडौंमा हुन लागेको राष्ट्रिय भेला सफल बनाउन नेपाली कांग्रेस बैतडी काठमाडौं सम्पर्क समितिले विभिन्न समिति गठन गरेको छ ।

शनिबार काठमाडौंमा भएको समितिको भेलाले विद्यार्थी समन्वय समिति, बुद्विजीवी तथा व्यापारी समिति र जिल्ला समन्वय एवं प्रचार–प्रसार समिति गठन गरेको छ ।

विद्यार्थी समन्वय समितिमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू नरेश विष्ट, अशोक विष्ट, रामचन्द्र बोहोरा, लोकेन्द्रबहादुर भण्डारी, एनपी जोशी र सन्तोष पन्त लगायत रहेका छन् ।

बुद्विजीवी एवं व्यापारी समन्वय समितिमा पदमराज जोशी, दीपेन्द्र बम, जनक भट्ट, धिरेन्द्र चन्द लगायत रहेका छन् ।

जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस, बैतडीका पूर्व सचिव पूर्णानन्द लेखक, पूर्व कोषाध्यक्ष रमेश पाण्डेय, महासमिति सदस्य सुरेन्द्र ऐर, उत्तरबहादुर ऐर, केदार अवस्थी लगायतका रहेको सम्पर्क समितिका अध्यक्ष दीवाकर बोहोराले जानकारी दिएका छन् ।

यी तीनवटै समितिले काठमाडौंमा बसोबास गर्ने नेपाली कांग्रेस समर्थित शुभचिन्तकहरूसँग छलफल, सल्लाह र परामर्श गरेर साउन २९ गतेको राष्ट्रिय भेला सफल पार्न रणनीति बनाउनेछ ।

भेलामा पूर्व मन्त्री एवं नेपाली कांग्रेस, बैतडीका पूर्व सभापति नरबहादुर चन्दले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेला सफल बनाउन कांग्रेस समर्थित सबै बैतडीबासीले सहयोग गर्नु पर्ने बताए ।

राष्ट्रिय भेला अगावै शेरबहादुर देउवा काडमाडौं फर्किन लागेकाले परिस्थिति सहज बन्दै जाने सहभागीहरूले बताएका छन् ।

भेलामा काठमाडौंमा बसोबास गर्ने बैतडीबासी विद्यार्थी, समाजसेवी, नेता, पेसाकर्मी र शुभचिन्तकहरूको सहभागिता रहेको थियो । देउवा पक्षीय नेताहरूले साउन २९ गतेदेखि काठमाडौंमा शुरु हुने राष्ट्रिय भेलालाई सफल बनाउन र पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँ गति दिन ५ सय ५१ सदस्यीय आयोजक समिति गठन गरेको छ ।

Published : Saturday, 2026 August 1, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया