मित्रता र संहिष्णुता कायम गरौं, दोषीलाई हदैसम्मको कारबाही होस् : कांग्रेस सांसद थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभाका सांसद सुनिलबहादुर थापाले सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै आपसी सद्भाव, मित्रता र संहिष्णुता कायम गर्न अपील गरेका छन् ।

शुक्रबार पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता थापाले प्रेस विज्ञप्ति जारी गरेर भने, ‘यो कठिन अवस्थामा स्थितिलाई थप जटिल बन्न नदिई समुदायमा एकता, आपसी सद्भाव, मित्रता र संहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपील गर्दछु ।’

उनले भने, ‘सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव र संहिष्णुता, हाम्रो देशको पहिचान र गौरव हो । यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु ।’

कांग्रेस नेता थापाले सुनसरीसहित तराई, मधेशका जिल्लाहरूमा भएका घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडा कारबाही गर्न माग गरेका छन् । उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सचेत हुन पनि सरकारलाई आग्रह गरेका छन् ।

सो घटनापछि उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई कायम गर्न र संयमता अपनाउन सरकारलगायत सरोकार पक्षले हरसम्भव प्रयासमा गर्नुपर्ने नेता थापाले बताएका छन् ।

‘नेपालमा बहुभाषिक र बहुजातीय समाज रहेकाले यसमा गम्भिरतापूर्वक विचार पु¥याएर मात्र कदम चाल्न पर्छ भन्ने म ठान्दछु,’ नेता थापाले भने, ‘देशमा शान्ति सुव्यवस्था कÞायम गर्न यसको जीम्मेवारी लिएको सरकार त्यति गम्भीर नहुनु दुखद् हो ।’

उनले भने, ‘एक्लै हिँडेर कोहि पनि कहीँ पुगेका छैनन् र पुग्न पनि सकिदैंन । सबै राजनीतिक दल तथा पक्षसँग सहकार्य गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने दायित्व सरकारको हो । यो दायित्व सरकारले पूरा गरोस् भन्ने आग्रह पनि गर्न चाहन्छु ।’

‘देशको यस्तो अवस्थामा सबै तिक्तता बिर्सिएर एकजुट हुँदै सो समस्या समाधानका लागि जुट्न आग्रह गर्दछु,’ उनले भने, ‘सरकारले पनि सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कायम गर्न अब ढिलो गर्न हुन्न । सरकार आँउछ जान्छ तर, देश र व्यवस्था जोगाउनु हामी सबैको दायित्व हो भन्ने नबिर्सौ ।’

कांग्रेस नेता थापाले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा हालै भएको दुःखद् घटना र र त्यसपछि देशका विभिन्न भागमा देखिएको हिंसात्मक अवस्थाप्रति चिन्ता प्रकट गरेका हुन् ।

उनले उक्त घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

सुनसरी घटनाका कारण ३ जनाको ज्यान गएको छ । करीव १ सयभन्दा धेरै सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएका छन् ।

Published : Friday, 2026 July 31, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया