प्रधानमन्त्रीको भारत भ्रमणमा कोइलाबास नाका स्तरोन्नति एजेण्डा बनाइयोस् : कांग्रेस सांसद घिमिरे
काठमाडौं । राष्ट्रिय सभाका सांसद बासुदेव घिमिरेले ऐतिहासिक कोइलाबास भन्सार नाकाको स्तरोन्नति तथा एकीकृत धार्मिक पर्यटन विकास योजना ल्याउन सरकारसँग माग गरेका छन् ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद घिमिरेले देशमा सामाजिक सद्भाव कायम राख्न अपील पनि गरेका छन् ।
उनले भने, ‘नेपाल नै नरहे हामी कहाँ रहौँला ? आज मुलुक संकटपूर्ण अवस्थामा छ र साम्प्रदायिक दंगा फैलिरहेको छ । यस्तो घडीमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई आ–आफ्नो क्षेत्रबाट सामाजिक सद्भाव र एकता कायम राख्न हार्दिक अनुरोध गर्दछु ।’
कांग्रेसका सांसद घिमिरेले पूर्वकालदेखि व्यापारिक केन्द्रका रूपमा रहेको देउखुरी उपत्यकास्थित कोइलाबास नाका हाल सुनसान बनेकामा चिन्ता व्यक्त गरेका छन् ।
लमहीदेखि कोइलाबाससम्मको सडक कालोपत्रे भइसकेको बताउँदै घिमिरेले कोइरालाबास नाकालाई पुनर्जीवित गर्नुपर्ने बताए ।
कांग्रेस सांसद घिमिरेले कोइलाबास र भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लाको जरुवा भन्सारको स्तरउन्नतिलाई भारत भ्रमणको प्रमुख एजेन्डा बनाउन प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेका छन् ।
‘हाल जरुवा भन्सारबाट २५ हजार रुपियाँसम्मको मात्रै सामान आयात–निर्यात गर्न पाउने सीमा छ,’ उनले भने, ‘यसलाई बढाएर लाखौँ रुपियाँको व्यापार गर्न पाउने गरी भन्सारको स्तरोन्नति गर्न सरकारले पहल गरोस् ।’
भारतीय निजी गाडीहरू सजिलै भन्सार पास लिएर नेपाल आउन पाउने तर, नेपाली सवारी साधन भारत प्रवेश गर्दा ठूलो सास्ती खेप्नुपरेको उनले बताएका छन् ।
घिमिरेले नेपाली तीर्थयात्री तथा बिरामी बोकेका निजी गाडीहरूलाई पनि भारत प्रवेशमा सहज पासको व्यवस्था मिलाउन द्विपक्षीय एजेन्डा बनाउन आग्रह गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममा उल्लेखित ‘नेपाललाई तपोभूमि बनाउने’ राष्ट्रिय अभियानतर्फ संकेत गर्दै सांसद घिमिरेले लुम्बिनी प्रदेशका प्रमुख धार्मिक स्थलहरूलाई जोडेर एकीकृत योजना ल्याउन प्रस्ताव गरेका छन् ।
उनले लुम्बिनी बौद्ध शान्ति क्षेत्र, प्यूठानको स्वर्गद्वारी, दाङ धारापानीस्थित पाण्डेश्वर महादेव, पाल्पाको भैरवनाथ, बर्दियाका धार्मिकस्थल र बाँकेको बागेश्वरी मन्दिरलाई समेटेर विशेष पर्यटन परिपथ (टुरिजम सर्किट) बनाउनुपर्ने बताएका छन् ।
द्वापर युगमा पाण्डवहरू महाभारत युद्धपश्चात् नेपाल आउने क्रममा देउखुरीको राजपुरस्थित भीमबाग, रियाड, तेङ्गेली हुँदै धारापानी (ढाड बानी) पुगेर तपस्या गरी पाण्डेश्वर लिङ्ग स्थापना गरेको धार्मिक इतिहास स्मरण गराउँदै उनले यसको संरक्षण र प्रवर्द्धनको माग गरेका छन् ।
‘पशुपति क्षेत्र विकास कोष वा लुम्बिनी विकास कोष जस्तै धारापानी (ढाड बानी) क्षेत्रको विकासका लागि पनि ‘धारापानी विकास कोष’ स्थापना गरियोस्,’ उनले भने ।
स्थानीय गणेश अधिकारीको अध्यक्षतामा गठित समितिले निजीस्तरबाट यसको स्तरोन्नति गरे पनि सरकारका तर्फबाट अनुदान र प्रोत्साहन नपाएकोमा उनले ध्यानाकर्षण गराएका छन् ।
देउखुरी उपत्यकाबाट स्वर्गद्वारीसम्म केवलकार सञ्चालनको व्यवस्था गर्न र लुम्बिनी प्रदेश सरकारले ल्याएको पर्यटन गुरुयोजना कार्यान्वयनका लागि सङ्घीय सरकारले आवश्यक अनुदान तथा सहयोग उपलब्ध गराउनुपर्ने उनको माग थियो ।
सांसद घिमिरेले दाङको तुलसीपुरस्थित ग्रेट अरनिको उच्च माध्यमिक विद्यालयका विद्यार्थी नयन ओलीमाथि घट्टे खोलामा अज्ञात समूहद्वारा भएको खुकुरी प्रहारको निन्दा गरेका छन् । सांसद घिमिरेले घाइते विद्यार्थीको तत्काल निःशुल्क उपचार र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया