सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारा कायम राख्न आईजीपी कार्कीको अपील
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय भाइचारा कायम राख्न सम्पूर्ण नेपालीलाई संयमता अपनाउन अपील गरेका छन् ।
शुक्रबार भिडियो सन्देश जारी गरेर कार्कीले नेपाल धर्म, भाषा, जातजाति र संस्कृतिको विविधता भए पनि आपसी सम्मान, संहिष्णुता र सद्भावका साथ अघि बढ्दै आएको मुलुक भएको बताएका छन् । उनले विविधतामा एकता नै नेपालको पहिचान, गौरव र शक्ति भएको बताए ।
‘धर्म, भाषा, जातजाति र संस्कृतिको भिन्नताबीच पनि हामी आपसी सम्मान, संहिष्णुता र सम्मानका साथ सँगै बाँच्दै आएका छौं,’ उनले भने, ‘विविधतामा एकता नै हाम्रो पहिचान, शान र शक्ति हो ।’
आईजीपी कार्कीले धर्म, संस्कार र संस्कृति फरक भए पनि मुलुक र साझा भावना एउटै भएकाले एकअर्काको संस्कृति, संस्कार र आस्थाको सम्मान गर्नुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानूनविपरीत गतिविधि गर्ने कार्य कसैको हितमा नहुने बताएका छन् । यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन बढाउने भएकाले सबै नागरिकलाई जिम्मेवार र संयमित बन्न उनले आग्रह गरेका छन् ।
विशेषगरी पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने तथा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिएको भन्दै आईजीपी कार्कीले त्यसप्रति चिन्ता व्यक्त गरेका छन् ।
यस संवेदनशील समयमा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्न उनले सबैमा आह्वान गरेका छन् ।
सबै नागरिकलाई संयमता, संहिष्णुता र आपसी सम्मानका साथ सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारा कायम राख्न सहयोग गर्न आईजीपी कार्कीले अपील गरेका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया