भारतले बनाइदियो तुलसीपुरमा राप्ती आँखा अस्पतालको अपरेसन थिएटर भवन

तुलसीपुर । भारत सरकारको आर्थिक सहयोगमा निर्मित दाङको तुलसीपुर उप–महानगरपालिका–४ स्थित राप्ती आँखा अस्पतालको अपरेसन थिएटर भवनको उद्घाटन गरिएको छ ।

बिहीबार काठमाडौंस्थित भारतीय राजदूतावासकी काउन्सलर गीतांजलि ब्रैंडन र तुलसीपुर उप–महानगरपालिकाका मेयर टीकाराम खड्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

दुई तल्ले अपरेसन थिएटर भवनको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । तुलसीपुर उप–महानगरपालिकामार्फत कार्यान्वयन गरिएको हो । यो दाङको ७औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

तुलसीपुर उप–महानगरपालिकाका मेयर, अस्पताल व्यवस्थापन तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका छन् । उनीहरूले नयाँ पूर्वाधारले यस क्षेत्रमा आँखा उपचार सेवालाई सुदृढ गर्न मद्दत गर्ने बताए ।

उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम शुरु भएयता भारत सरकारद्वारा नेपालका ७ वटै प्रदेश समेट्ने गरी करिब ६०० वटा परियोजनाहरु अघि बढाएको छ ।

दाङका ७ वटा परियोजनाहरूसहित यस्ता ६६ वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् । दाङमा १९ वटा एम्बुलेन्स र ८ वटा स्कुल बससहित भारत सरकारले लुम्बिनी प्रदेशका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूलाई १६९ वटा एम्बुलेन्स र ५९ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

सन् २०२२ जनवरीमा राप्ती आँखा अस्पताललाई एउटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिएको थियो ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने भारतीय राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2026 July 30, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया