प्रधानमन्त्री शाहद्वारा राष्ट्रपतिसँग भेट, उपराष्ट्रपतिसँग फोनमा कुराकानी

काठमाडौं । सुनसरीमा दुई धार्मिक समूहबीचको द्वन्द्वपछि उत्पन्न परिस्थितिले उग्ररुप लिइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

बिहीबार राति शीतल निवासमा पुगेर राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहले भेट गरेका हुन् । भेटका क्रममा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग बिहीबार नै टेलिफोन मार्फत संवाद गरेका छन् । उनीहरूबीच मुलुकको वर्तमान अवस्थाबारे कुराकानी भएको छ ।

संवादका क्रममा दुवै जनाबीच आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचार–विमर्श भएको छ ।

सुनसरी घटना फैलिएर भएका प्रदर्शनका क्रममा ३ जनाको मृत्यु भएको छ । धेरै सुरक्षाकर्मी र प्रदर्शनकारीहरू घाइते भएका छन् ।

प्रधानमन्त्री शाहले भिडियो सन्देशमार्फत सम्बोधन गरेको केही समयपछि राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । त्यसपछि उपराष्ट्रपति यादवसँग टेलिफोनमा सम्वाद गरेका छन् ।

Published : Thursday, 2026 July 30, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया