रोल्पामा देउवा पक्षीय नेताहरूद्वारा नवीकरण भइसकेको क्रियाशील सदस्यता अध्यावधि नगर्न अपील

लिवाङ । नेपाली कांग्रेस रोल्पाका सभापतिका १४औँ महाधिवेशनका प्रत्यासी एवम् वरिष्ठ जिल्ला कार्यसमिति सदस्य मानबहादुर खत्रीले क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा अध्यावधि नगर्न आग्रह गरेका छन् ।

नेता खत्रीले प्रेस विज्ञप्ति जारी गरेर १५औँ महाधिवेशनका लागि भनेर नवीकरण भइसकेको क्रियाशील सदस्यता अध्यावधि गर्नुपर्ने औचित्य नरहेको बताएका छन् । उनले रोल्पा जिल्लाका क्रियाशील सदस्यहरूलाई नवीकरण भइसकेको क्रियाशील सदस्यता अध्यावधि नगर्न सबैमा अनुरोध गरेका हुन् ।

रोल्पा कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेताहरूको बैठक शनिबार बसेको थियो । सो बैठकले रोल्पामा क्रियाशील सदस्यता अध्यावधि नगर्ने निर्णय गरेर सोही अनुसारको अपील गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८३ वैशाख २६ गते शनिबारका दिन यस रोल्पा जिल्लाको सदरमुकाममा नियमित महाधिवेशन पक्षधर समूहको बैठक १४औँ महाधिवेशनका जिल्ला सभापति प्रत्यासी मानबहादुर खत्रीको संयोजकत्वमा बसेको बैठकले मिति २०८३ वैशाख १५ र १६ गते निवर्तमान केन्द्रीय कार्यबाहक उपसभापति श्री पूर्णबहादुर खड्काज्यूको संयोजकत्वमा बसेको भेलाबाट पारित भै निर्देशन भएअनुसार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि यस रोल्पा जिल्लाका नेपाली कांग्रेसका क्रियाशील सदस्यहरूको क्रियाशील सदस्यता नवीकरण तथा नया फाराम भरी वडा, पालिका, प्रदेश र जिल्ला हुँदै केन्द्रीय कार्यालयमा समेत बुझाई सकिएको अवस्थामा पुनः १५औं महाधिवेशनको लागि डिजिटल क्रियाशील अध्यावधिक गरी रहनु पर्ने औचित्य नदेखिएको र सो कार्यले पार्टी एकतामा समेत प्रत्यक्ष असर पर्ने देखिएकोले तत्काल क्रियाशील सदस्यहरूको सदस्यता अध्यावधिक नगर्ने निर्णय भए बमोजिम यसै विज्ञप्ति मार्फत जानकारीको लागि अनुरोध छ ।’

‘पार्टीको नियमित गतिविधिहरूमा अझै सक्रिय भएर लाग्न समेत सम्पूर्ण नेता तथा कार्यकर्ता साथीहरूलाई विनम्रतापूर्वक अनुरोध गर्दछु,’ नेता खत्रीले भनेका छन् ।

Published : Sunday, 2026 May 10, 8:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया