काठमाडौंमा सुकुम्बासी बस्तीमा डोजर चलाएपछि बालेन सरकारविरुद्ध धरानमा हजारौंको प्रदर्शन
विराटनगर । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले काठमाडौंका सुकुम्बासी बस्तीहरूमा डोजर लगाएर सुकुम्बासी र भूमिहीनहरूलाई दुःख दिएको घटनाको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन् ।
शनिबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सरकारविरुद्ध सुनसरीको धरानमा प्रदर्शन भएको छ । प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएका छन् । प्रदर्शनकारीहरूले सुकुम्बासी र भूमिहीनहरूको पक्षमा नारावाजी गरेका छन् । सरकार र प्रधानमन्त्री शाहविरुद्ध पनि नारावाजी भएका छन् ।
धरान बजारको छाता चोकबाट शुरू भएको जुलुसले धरान बजार परिक्रमा गरेको थियो । धरानमा नेपाल बसोबास बस्ती संरक्षण समाज र बस्ती रक्षा संरक्षण परिचालन समितिको नेतृत्वमा प्रदर्शन भएको प्रदर्शनकारीहरूले बताएका छन् ।
काठमाडौंमा गत शनिबारदेखि बस्ती प्रवेश गराइएको डोजरले हालसम्म सुकुम्बासी बस्तीका १० हजारभन्दा बढीलाई विस्थापनमा पारिसकेको छ ।
प्रदर्शनमा सहभागीहरूले नागरिकलाई आवासको हक संविधानले नै ग्यारेन्टी गरेको विषय राज्यले बिर्सेको बताएका छन् ।
नेपाल बसोबास बस्ती संरक्षण समाजका अध्यक्ष कुमार कार्कीले सरकारी दमनको निन्दा गर्दै सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएर राज्य आतंक मच्चाएको आरोप लगाएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया