कथित विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अध्यावधि असल नियतले आएन : कोइराला समूह
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहका नेताहरूले कथित विशेष महाधिवेशनकै कारण पार्टी एकता कमजोर भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा नेता डा.कोइरालाद्वारा आह्वान गरिएको बैठकमा नेताहरूले पार्टीभित्र विवादको स्थिति रहेको र एकता कायम हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् । उनीहरूले तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले निर्वाचनको बेला कथित विशेष महाधिवेशनको फण्डा गरेर कांग्रेसलाई इतिहासकै दर्दनाक अवस्थामा पुर्याएको बताए ।
पार्टीभित्र सिर्जित पछिल्लो विवादको कारण विशेष महाधिवेशन नै रहेको भन्दै नेताहरूले भृकुटीमण्डप भेलाका आयोजकहरूले कांग्रेस कमजोर भएको जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
विशेष महाधिवेशनकै कारण पार्टीभित्र एकता कामय हुन नसकेको विषयमा छलफल भएको र बैठकमा नेताहरूले पनि सहमति जनाएका छन् ।
अहिलेको अवस्थामा पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी कथित विशेष महाधिवेशनबाट आएको नेतृत्वको रहेको पनि नेताहरूले बताएका छन् ।
नेताहरूले केन्द्रीय कार्यसमितिले आह्वान गरेको क्रियाशील सदस्यता अद्यावधिकको विषयमा पनि प्रश्न उठाएका छन् । नेताहरूले १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अद्यावधिक गर्ने कुरा असल नियतका साथ नआएको भन्दै प्रश्न उठाएका छन् ।
बैठकमा नेताहरू डा.शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दीपक गिरी, सञ्जय गौतम, शिव हुमागाईं, राजीव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा.गोविन्दराज पोखरेल, किरण यादव, गणेश लामाको सहभागिता रहेको थियो । संघीय सांसद डा.चन्द्रमोहन यादव, उर्मिला थपलिया र गीता देवकोटाको समेत सहभागिता रहेको थियो ।
कांग्रेस बागमती प्रदेश समिति महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल, सदस्यहरू उपेन्द्र लम्साल, शान्ता क्षेत्री, होम चौलागाईं, नानु दाहाल, सुनिता काफ्ले, अस्मिन सिटौला पनि सहभागी रहेका थिए ।
धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारी, नुवाकोट कांग्रेसका सभापति रमेश महत, चितवन कांग्रेसका सभापति राजेश्वर खनाल, मकवानपुर कांग्रेसका उपसभापति धर्म लामिछाने, सिन्धुलीका सचिव ईश्वर बस्नेत, काठमाडौं महानगर सभापति निलकाजी शाक्यको पनि उपस्थिति रहेको थियो ।
बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार र हरिप्रभा खड्गी, पूर्व प्रदेश सांसद नरोत्तम वैद्य र बिजुला बर्मा, कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष विनोद कायस्थ, नेता लोकेश ढकाल लगायतको पनि उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया