सेनाले बेलीवृज जडान गरिदिएपछि हुम्ला राष्ट्रिय सडकमा जोडियो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हुम्ला जिल्लालाई राष्ट्रिय सडक संजालसँग जोड्नको निमित्त हिल्सा–सिमिकोट सडक खण्डमा नेपाली सेनाले निर्माण गरेको बेलीवृजको उद्घाटन गरेका छन् ।

आइतबार हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ स्थित चुवा खोलामा नेपाली सेनाद्वारा जडान गरिएको बेलीवृजको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन गरिएको सेनाले विज्ञप्तिमार्फत जनाएकोछ ।

‘मिति २०८१ चैत्र १२ गतेबाट नेपाली सेनाको फौज पुल निर्माण स्थलमा खटिई भौतिक निर्माणको कार्य शुभारम्भ भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कर्णाली प्रदेश सरकार, स्थानीय जनप्रतिनिधि र स्थानीय जनसमुदायको समन्वयमा जडान गरिएको ५१.८ मि. (१७० फिट) लम्बाई, ४.२ मि. (१३.७८ फिट) चौडाई तथा २१ टन अधिकतम भारवहन क्षमता रहेको उक्त बेलीवृज सञ्चालन भएसँगै हिल्सा–सिमिकोट सडक खण्डमा बाह्रै महिना सवारी साधन आवागमन हुनेछ ।’

उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, रक्षामन्त्री, कर्णाली प्रदेशका मुख्यमन्त्री, प्रधान सेनापति, नेपाल सरकारका सचिवहरू, उत्तर पश्चिम पृतनाका पृतनापति, स्थानीय जनप्रतिनिधिहरू, जिल्लास्थित सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीयवासी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2025 July 6, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया