परराष्ट्रमन्त्री डा.राणाज्यूको कामबाट नेपाली डायस्पोरा खुसी छन् : कांग्रेस नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभागका सभापति किरण पौडेलले विश्वमा रहेका नेपाली डायस्पोराले पछिल्लो समयमा परराष्ट्र मन्त्रालयबाट पाउनुपर्ने कन्सुलर लगायतका सेवा सुविधाहरू छिटो छरितो र चुस्त दुरुस्त रुपमा प्राप्त गरिरहेको बताएका जानकारी दिएका छन् ।

शुक्रबार ललितपुरको सानेपास्थिट केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै पौडेलले परराष्ट्रमन्त्रीमा डा.आरजु राणा नियुक्त भएपछि कतिपय देशमा उहाँ आफैँ पनि पुगेर त्यहाँ रहेका नेपालीहरूको अवस्था र समस्या बुझ्ने तथा सम्बद्ध देशका नेपाली दूतवासहरूलाई नेपाली डायस्पोराको सेवामा रहन निर्देशन दिएबाट सेवा चुस्तदुरुस्त बनेको बताए ।

पौडेलले भने, ‘विश्वमा रहेका नेपाली जनसम्पर्क समितिहरूले मलाई रिपोर्ट दिइरहेका छन् कि अहिले नेपाली दूतावासले दिने सेवाहरूमा चुस्तता आएको छ । आफूहरूलाई परेका समस्या र आवश्यकताका बारेमा आवाजहरूको छिटै सुनुवाई हुने गरेको छ ।’

‘उनीहरूले परराष्ट्र मन्त्रालयबाट पाउने सेवाहरूमा फरक आएको बताएका छन् । यसका लागि म परराष्ट मन्त्रीलाई म विशेष धन्यवाद दिन चाहन्छु,’ नेता पौडेलले भने ।

लाखभन्दा बढीको संख्यामा नेपालीहरू रहेका अमेरिकाको टेक्सास, लस एञ्जलस होस् या अन्य ठाउँमा पनि नेपाली महावाणिज्यदूतावासको स्थापना गरी परराष्ट्रका सहसचिवस्तरका अधिकारी खटाउने काम भएकाले यसबाट पनि ती क्षेत्रका नेपालीले सहजै सेवा पाउने अवस्था सिर्जना भएको र उनीहरूले आफ्नो वर्षौंदेखिको माग पूरा भएको महसुस गरेको आफूलाई बताएका पनि केन्द्रय सदस्य पौडेलले जनाएका छन् ।

उनले भने, ‘गैरआवासीय नेपाली संघ पनि एक किसिमले बेवारिस अवस्थामा पुगेको थियो । सर्वाेच्च अदालतले ६ महिनाभित्र महाधिवेशन गराउन परराष्ट्रका नाममा दिएको परमादेश बमोजिम गत महिना महाधिवेशन सम्पन्न भइ अहिले एक प्रकारले ट्र्याकमा आएको छ ।’

त्यस्तै नेपाली जनसम्पर्क समितिका कार्यहरूलाई थप चुस्तदुरुस्त बनाउन परराष्ट्रमन्त्रीज्यूले गर्नुभएको समन्वय र सहयोग सराहनीय रहेको छ । यसले विदेशमा रहेका नेपाली जनसम्पर्क समितिमा आबद्ध हुन् या अरु नेपाली समुदायमा नेपाली कांग्रेसप्रति सकारात्मक प्रभाव परिरहेको छ ।’

केन्द्रीय सदस्य पौडेलले आफ्नो विभाग नेपाली जनसम्पर्क समितिको अवस्था र व्यवस्थाका बारेमा जानकारी गराएका थिए ।

Published : Friday, 2025 July 4, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया