सेनाद्वारा दुई वरिष्ठ सैनिक अधिकारीलाई बर्खास्त, ठूलो कारबाही

काठमाडौं । नेपाली सेनाको कल्याणकारी कोषमा भएको भ्रष्टाचारमा दुई वरिष्ठ सैनिक अधिकारी बर्खास्त भएका छन् ।

फर्जी कर्मचारी खडा गरी उनीहरूको नाममा चेक काटेर कोषको सवा २ करोड रकम भ्रष्टाचार गरेकोमा सहायक रथी रोशन खड्का तथा सेनानी बोधराज कार्की बर्खास्त भएका छन् ।

सैनिक विशेष अदालतले बिहीबार उनीहरूलाई बर्खास्त गरी हिनामिनाबापतको रकम तिराउने फैसला गरेको हो ।

सैनिक ऐन, २०६३ को दफा १०१ अनुसार उनीहरूलाई बर्खास्त गर्ने फैसला भएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताएका छन् । उनीहरूबाट २ करोड २१ लाख ८५ हिनामिना भएको थियो ।

हिनामिनामा संलग्न दुई पूर्वसैनिकलाई भने प्रहरीमार्फत यसअघि नै मुद्दा चलाइएको थियो । प्रहरीमार्फत मुद्दा दायर गरिएका पूर्वजमदार आत्मराम थापा हाल पुर्पक्षका लागि कारागारमा छन् ।

पूर्वसेनानी लक्ष्मण अधिकारी भने अमेरिका पुगेका छन् । चारजनाको मिलेमतोमा कोषको रकम दुरुपयोग भएको आन्तरिक छानबिनमा खुलेको हो ।

Published : Friday, 2025 July 4, 1:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया