सशस्त्र प्रहरीद्वारा वीरगञ्जमा छापा, १८ लाख बराबरको कर छलीको सामग्री बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपालले वीरगञ्जमा छापा मारेर साढे १८ लाख बराबरको लत्ताकपडा बरामद परेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १ बाट सशस्त्र प्रहरीले १८ लाख ५५ हजार ३ सय ५० रुपियाँ बराबरको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको हो ।

भारतबाट भन्सार छलेर नेपाल ल्याई अवैध रुपले भण्डारण गरी राखिएको लत्ता कपडासहितका सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण, पर्सा, प्रस्तावित सीमा सुरुक्षा गुल्म वीरगञ्ज, बोर्डर आउट पोष्ट सिर्सिया र ड्राइपोर्ट तथा भन्सार कार्यालय वीरगञ्जको संयुक्त टोलीले बिहीबार बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा वीरगञ्जको छपकैयास्थित लीलावती देवीको एक तल्ले पक्की घरको २ वटा कोठा, सन्तोष कुमारको फुसको घर र भोला साह कानुको दुई तल्ले पक्की घरमा छापा मारेर राजस्व छलीको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामान सशस्त्र प्रहरीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगञ्जमा बुझाएको छ ।

Published : Friday, 2025 July 4, 1:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया