एमालेका पूर्वमन्त्रीको हर्कत, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेशका पूर्वमन्त्री नन्दसिंह बुढासमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
झोले विद्यालय खडा गरी भवन निर्माणका नाममा सात लाख ६० हजार रुपियाँ बजेट विनियोजन गरेर भ्रष्टाचार गरेको अभियोगमा पूर्वमन्त्री बुढासहित चारजनाविरुद्ध विशेष अदालत, काठमाडौंमा बिहीबार अख्तियारले मुद्दा दायर गरेको हो ।
डोल्पाको तत्कालीन दुनै गाविस वडा नं. २ र ३ तिप्लामा दुर्गा प्राथमिक विद्यालयको नाममा रकम लगेर हिनामिना गरेको आरोपमा अख्तियारले जिल्ला प्राविधिक कार्यालय दुनैका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मीविरुद्ध मुद्दा चलाएको छ ।
बजेट हिनामिनाका लागि गठन गरिएको फर्जी निर्माण उपभोक्ता समितिमा पूर्वमन्त्री नन्दसिंह अध्यक्ष थिए । समितिका कोषाध्यक्ष संगीता बुढाविरुद्ध पनि मुद्दा दायर भएको छ । पूर्वमन्त्री बुढासहितका ४ जनाले आर्थिक वर्ष ०६७÷६८ को बजेटमा भ्रष्टाचार गरेका थिए ।
बुढा २०७५ सालमा एमालेबाट कर्णाली प्रदेशको वनमन्त्री बनेका थिए । बुढाले २०७८ सालमा फ्लोरक्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सरकार जोगाएपछि फेरि मन्त्री बनेका थिए ।
२०७९ को असोजमा बुढा एमालेमा फर्किएका हुन् । पूर्वमन्त्री बुढा पार्टी विभाजनमा नेकपा(एकीकृत समाजवादी) तर्फ लागेर डोल्पाको अध्यक्षसमेत भएका थिए ।
जुन स्थानमा र जुन विद्यालयको नाममा रकम लगेर खर्च गरिएको छ, त्यस स्थानमा उक्त विद्यालय अस्तित्वमै नरहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
साविक गाविसका ती वडा अहिले ठूलीभेरी नगरपालिका वडा नं. ४ मा पर्छ । यस वडामा एउटै मात्र लालीगुँरास आधारभूत विद्यालय सञ्चालनमा छ ।
साविक गाविसमा दुर्गा प्राथमिक विद्यालय नामको काल्पनिक विद्यालय खडा गरेर आपसी मिलेमतो र योजनामा हुँदै नभएको विद्यालयका लागि दुई कोठे भवन निर्माणको लागि सात लाख ६० हजार रुपियाँ रकम विनियोजन गरिएको थियो । यसका लागि काल्पनिक उपभोक्ता समिति गठन गरिएको थियो ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया