मकवानपुर प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषधसहित ४ जना पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १६८ किलो ३० ग्राम गाँजासहित १ जना मानिसलाई पक्राउ गरेको छ ।

असार १८ गते गाँजा लुकाई छिपाई गरी राखेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले कैलाश गाउँपालिका वडा नं. ९ ठूलोवारी बस्ने वर्ष ५५ को अर्जुन रुम्बालाई निजकै घर अगाडि बसिरहेको अवस्थामा पक्राउ गरिएको मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।

पक्राउ परेका रुम्बाको गोठ समेतको खानतलासी गर्ने क्रममा गोठभित्र घाँस र स्याउलाले छोपी लुकाई छिपाई राखेको अवस्थामा १६८ किलो ३० ग्राम गाँजा फेला परेको एसपी खड्काले बताए ।

गाँजासहित पक्राउ परेका रुम्बालाई नियन्त्रणमा लिई लागूऔषध गाँजा मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

यसैबीच, मकवानपुर प्रहरीले १७७० क्याप्सुल ट्रामाडोलसहित ३ जना मानिसलाई पक्राउ गरेको छ ।

असार १८ गते इलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको गस्ती टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. ८ औद्यौगिक क्षेत्रभित्र पानी ट्याङ्की नजिक सडक खण्डमा लागुऔषध बरामद भएको एसपी खड्काले बताए ।

ना. ३८ प ३१८५ नम्बरको मोटरसाईकल र ना २१ प १७१ नम्बरको स्कुटर रोकी शंकास्पद रुपमा बसीरहेको अवस्थामा हेटौँडा उपमहानगरपालिका वडा नं. १५ शिखरपानी बस्ने वर्ष २४ को महेश तामाङ, भीमफेदी गाउँपालिका घर भई हाल मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ डेराकोठामा बस्ने वर्ष २६ को कैलाश थापा मगर र हेटौँडाको वडा नं. १३ बस्ने वर्ष ४० को सोम स्याङतानलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका व्यक्तिहरूसँग लागुऔषध ट्रामाडोल १७७० क्याप्सुल फेला परेको एसपी खड्काले बताए ।

लागूऔषध तथा मोटर साइकल, स्कुटर बरामद गरी महेश तामाङ, कैलाश थापा मगर र सोम स्याङतानलाई नियन्त्रणमा लिई लागुऔषध कसूर मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको एसपी खड्काले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध र त्यसका कारोबारीलाई दैनिक सरह पक्राउ गर्दै आएको छ । लागुऔषध नियन्त्रण र तस्करलाई मकवानपुर प्रहरीले कडाइ गर्दै आएको छ ।

Published : Friday, 2025 July 4, 9:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया