सिंहद्वारा कागेश्वरी मनहरा नगरपालिकाको नयाँ भवन उद्घाटन, छरितो रुपमा सेवा प्रवाह गरिने

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनमार्फत नगरबासीहरूलाई प्रभावकारी सेवा उपलब्ध गराउने दिशामा नयाँ मानक स्थापित गर्नुपर्नेमा जोड दिइएको छ ।

बुधबार कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले नगरपालिकाको नयाँ सुविधासम्पन्न र ठूलो भवनले नगरवासीहरूलाई सेवा पनि ठूलै दिनुपर्ने भन्दै कामना दिएका छन् ।

वक्ताहरूले नयाँ भवनले जनतालाई प्रभावकारी सेवा पुर्‍याउने अपेक्षा र विश्वास व्यक्त गरेका छन् ।

कार्यवाहक प्रधानमन्त्री सिंहले भने, ‘कागेश्वरी मनहरा नगरपालिकाका स्थानीयहरूलाई नयाँ सुविधासम्पन्न भवनमार्फत प्रभावकारी सेवा दिनेतर्फ नगरपालिकाको ध्यान केन्द्रित हुने विश्वास लिएको छु । समय अनुसार भव्य भवन बनेको छ । यो भनेको स्थानीयवासीहरूलाई प्रवाह गर्ने सेवाको प्रभावकारिता वृद्धिका लागि हो । छिटो छरितो होस् भन्नका लागि हो ।’

भवन निर्माणअघि जे जस्तो विषयहरू उठेपनि अब बनिसकेपछि यसको निर्माणको उद्देश्य पूर्तिका लागि सबै मिलेर अघि बढ्नुपर्ने सुझाव सिंहले दिएका छन् ।

अर्थ समितिका सभापति सन्तोष चालिसेले भने, ‘जत्ति ठूलो भवन त्यतिनै ठूलो सेवा हुनुपर्दछ ।’ उहाँले स्थानीय सरकारले चाहेमा विकास निर्माणका थुप्रै कामहरू गर्न सकिनेछ ।’

कागेश्वरी मनोहरा नगरपालिकाले पनि जन आकांक्षाहरू सम्बोधन गर्ने दिशामा उल्लेख्य कामहरू गर्दै गएको सांसद चालिसेले बताए ।

सांसदद्वय प्रतिमा गौतम र सोविता गौतमले पनि नयाँ भवनले नयाँ स्वरुपमा प्रभावकारी सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

नगरप्रमुख उपेन्द्र कार्कीले सबैको प्रयासमा भवन उद्घाटन गर्न पाएको भन्दै भवनबाट प्रशासनिक सेवाहरूलाई चुस्त बनाउने बताएका छन् । कार्कीले भवन निर्माणको परिकल्पनाकारदेखि विभिन्न चरणमा साथ सहयोग गर्नेहरूमा कृतज्ञता व्यक्त गरेका छन् ।

नगरप्रमुख कार्कीले शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी जस्ता जनताका आधारभूत समस्याहरूलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नगिलाले नयाँ भवन नगरपालिकाको संस्थागत क्षमताको वृद्धि मात्र नभई नगरवासीप्रतिको उत्तरदायित्व, प्रभावकारी सेवा प्रवाहको प्रतीक भएको बताए । नगिलाले भने, ‘यो भवन कागेश्वर नगरवासीहरूको आस्थाको धरोहर हो । सेवा प्रवाहको केन्द्रविन्दु पनि हो ।’

३९ करोड ५४ लाख ६३ हजार ६ सय ९८ रुपियाँ लागतमा निर्मित नयाँ भवन करीव ७ रोपनी क्षेत्रफलमा फैलिएको छ । ७ तले भवनको शिलान्यास २०७७ पुस २४ गते गरिएको थियो ।

Published : Thursday, 2025 July 3, 11:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया