कांग्रेस सिध्याउने गरि अनुशासनहीन नबनौँ, मर्यादामा रहेर टिप्पणी गरौँ : लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले पार्टीमा अनुशासनहीनता बढेको भन्दै चिन्ता जनाएकी छिन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै खतिवडाले भनिन्, ‘यहाँ को के बन्न हिँडेको छ ? को के का लागि लडेको छ ? म आफै अचम्मित भएको छु ।’
‘पार्टीमा अनुशासनहीनता यति बढेको छ । संसद सदस्यहरू छन् । माननीयहरू छन्,’ खतिवडाले भनिन्, ‘किन बोल्छन्, के बोल्दै छन् ? कुन पार्टीको टिकट लिएर चुनाव जितेको छु ? कुन पार्टीको ? कुन चुनाव चिन्ह हो ? भन्ने कुरा पनि हेक्का छैन ।’
‘यो पार्टी नै सिध्याउने, पार्टीको जगलाई नै धरासायी बनाउने, पार्टीलाई कमजोर बनाउने, पार्टीलाई अनुशासनहीन बनाउने हो भने भोलि कुन पार्टीको र कति मान्छेको पार्टी सभापति हुने, महामन्त्री हुने मलाई थाहा छैन,’ केन्द्रीय सदस्य खतिवडाले भनिन् ।
खतिवडाले क्रियाशील सदस्यतालाई आफ्नो स्वार्थअनुसार वितरण नगर्न चेतावनी दिएकी छिन् । उनले भनिन्, ‘जहाँसम्म क्रियाशील सदस्यताको कुरा छ, क्रियाशील सदस्यतालाई बन्ध्याकरण पनि नगरियोस् । यति खुकुलो पनि नगरियोस् की कसैले पार्टी कब्जा गर्न कै लागि क्रियाशील सदस्यता प्रयोग गर्न सकाेस् । त्यो कुरामा हामीले बिचार गर्नुपर्छ ।’
‘मेरा बाआमा कांग्रेसको कार्यकर्ता भएकोले म काँग्रेस भएको हुँ, मेरो लागि कांग्रेस पार्टीभन्दा पनि धेरै परिवार हो । हाम्रा लागि कांग्रेसको केन्द्रीय सदस्य, कांग्रेसको केन्द्रीय कार्यसमिति भनेको धेरै ठूलो कुरा हो,’ खतिवडाले भनिन् ।
केन्द्रीय सदस्य खतिवडाले भनिन्, ‘हिन्दु धर्म मान्ने मान्छेका लागि पशुपतिनाथ जतिको आराध्य श्रद्धेय हो त्यति नै श्रद्धेय हो यो पार्टी हाम्रो लागि ।’ नेतृ खतिवडाले भनिन्, ‘दायाँ र बायाँ बसेका पार्टीका नेताहरूले पार्टीको बारेमा सोँच्नलाई ढिला भइसक्यो ।’
पार्टीको महाधिवेशनका नाममा नेताहरूबीच तिक्तता हुने गरेर अभिव्यक्ति आउन लागेको भन्दै नेतृ खतिवडाले चिन्ता जनाएकी छिन् । उनले नेताहरूलाई मर्यादामा रहेर टिकाटिप्पणी र अभिव्यक्ति दिन अनुरोध गरेकी छिन् ।
‘जसैजसै महाधिवेशनको सरगर्मी बढ्नेछ यो तिक्तता अझै घिनलाग्दो भएर जानेछ,’ खतिवडाले भनिन्, ‘एकअर्काप्रति आरोप प्रत्यारोपमा हामी आज छौँ । योभन्दा तल झर्ने छौँ । चारित्रिक टिप्पणीहरू, लाञ्छनाहरू लाग्नेछन् । यो अवस्था छ पार्टीको । यो अवस्थामा पार्टीका नेताहरूले सोँच्नु पर्छ की पर्दैन ? यो पार्टी कमजोर हुँदा, यो पार्टी सिद्धिदा कसलाई लाभ हुने हो ?’
‘हाम्रा क्रियाकलापहरू यो पार्टीलाई निरन्तर कमजोर पार्ने र सिद्धाउन कुरामा लागिरहेको मैले अनुभूति गरेको छु,’ उनले भनिन् ।
उनले भनिन्, ‘मान्छे चुनाव लड्नलाई मात्र कांग्रेस बनेका हाेइनन् । हामी चुनाव लड्नको लागि कांग्रेस बनेका होइनौँ । हाम्रो जवानी, जिन्दगानी बितेको छ कांग्रेसमा । नेतृत्वकाे कृयाकलापले पार्टी कमजाेर भएकाे छ ।’
‘निरन्तर पार्टी कमजोर भइरहेको छ । तपाईहरूले पाउने चिज पाइसक्नुभयो । अहिले पार्टी बचे अझै पाउनु होला । ०८४ को कसरी सामना गर्ने ? खोइ रणनीति ? संगठन कब्जा गरेर मात्रै आफ्ना मान्छे मात्रै हालिमुहाली गराउने प्रयत्न मात्रै गरेर हुँदैन,’ खतिवडाले भनिन् ।
‘पार्टी बलियाे भने भने म त गौरवान्वित हुनेछु । एउटा बलियो पार्टीको क्रियाशील सदस्य मात्रै, महाधिवेशन, महासमिति मात्रै भएर पनि पार्टीमा आफूलाई गौरवान्वित सम्झिनेछु,’ उनले भनिन्, ‘पार्टीको केन्द्रीय सदस्य, पदाधिकारी कुरै होइन ।’
खतिवडाले भनेकी छिन्, ‘यो शरीरमा अन्तिम थोपा रगत रहँदासम्म पार्टीको हितमा लाग्ने प्रण गर्दछु ।’ ‘चाहे थोरै हौँ हामी । जति बाँकी रहन्छौँ । अनुशासन कठोरताका साथ पालना गरौँ । हामी सबै अनुशासनको दायरामा बाँधिनु जरुरी छ,’ खतिवडाले भनेकी छिन् ।
नेतृ खतिवडाले भनेकी छिन्, ‘भ्रातृ संस्थाहरू बारम्बार अनिर्णयको बन्दी बनेका छन् । भ्रातृ संस्थाहरूलाई किन चलायमान गर्न सकिएन ? किन गतिशीलता दिन सकिएन ? किन तेरो र मेरो भन्नेतिर लागियो ? जाे बने पनि पार्टी कै साथीहरू बन्ने हुन् ।’
उनले भनिन्, ‘गुटबन्दी भनेको आफ्नो अनुकूललाई गर्ने रहेछ आफूले । बुझिसकियो । किन धेरै आत्तिरहनु पर्यो । बन्न दिनुस् स्वभाविक रुपमा बन्छन् । तपाई बलियो हुनु भयो भने तपाईकोमा आइहाल्छन् । कोही दिउँसो आउलान्, कोही राति आउलान् । फरक त्यति हो ।’
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया