कांग्रेसले क्रियाशील सदस्यताको जिम्मेवारी प्रदेशलाई दिनुपर्छ, बागमतीको निरास बजेट : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँले क्रियाशील सदस्यताको जिम्मेवारी प्रदेश कार्यसमितिलाई दिन प्रस्ताव गरेका छन् ।

बुधबार वीपीनगर, सानेपा, ललितपुरस्थिात कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति बानियाँले क्रियाशील सदस्यताको काम दिएर प्रदेश कार्यसमितिलाई सक्रिय बनाउन आग्रह गरे । उनले भने, ‘क्रियाशील सदस्यता कतिपय जिल्लामा नवीकरण भएको छैन । कसैले नयाँ पाएका छन् । कसैमा नयाँ फारम गएको छैन । क्रियाशीललाई व्यवस्थित र अध्यावधिक गर्नलाई प्रदेशमार्फत जाने र प्रदेश कार्यसमितिलाई काम दिएर चयामान बनाउनु पर्छ ।’

‘केन्द्रले संविधानले परिकल्पना गरेको ३ तहको सरकार भने जस्तै पार्टीले पनि विशेष गरि प्रदेश कार्यसमितिलाई क्रियाशील र सक्रिय बनाउन बैधानिक व्यवस्थामा अझै सुधार गरेर लैजानुपर्छ,’ सभापति बानियाँले भने, ‘क्रियाशील प्रदेशमार्फत हुने व्यवस्था मिलाउनुपर्छ ।’

सभापति बानियाँले विदेशमा रहेका जनसम्पर्क समितिहरूलाई क्रियाशील बनाइ सामाजिक सञ्जालबाट भइरहेका भ्रामक प्रचारलाई निस्तेज पार्नुपर्ने बताएका छन् ।

उनले भने, ‘जनसम्पर्क विभागलाई प्रभावकारी बनाउनुपर्छ । विदेशबाट जुन किसिमको नकारात्मक भाष्य विकास भएको छ यसलाई कसरी हुन्छ नेपाल बन्छ, नेपाल हुन्छ, यसको नेतृत्व कांग्रेसले गर्छ भन्ने कुरा विभिन्न देशमा बसेका सम्पूर्ण साथीहरूमार्फत केन्द्रीय जनसम्पर्क समितिलाई चलायमान र प्रभावकारी बनाउन पर्छ ।’

‘विशेष गरि भारतमा रहेको जनसम्पर्क समिति अलिक धेरै सक्रिय हुनुपर्छ,’ उनले भने, ‘भारतमा धेरै नेपाली नागरिक रोजगारीका लागि काम गर्न जान्छन् । ती मानिसहरू आधा त मतदाता नै हुन्छन् ।’

‘उनीहरू निर्वाचनको बेला मतदान गर्न आउँछन् । विदेशमा बस्नेहरूले सामाजिक सञ्जालबाट भ्रम पैदा गर्ने र नेपालका मतदाता हुने भएकोले उनीहरूलाई विश्वास लिनको लागि सम्पर्क समिति चलायमान बनाउनुपर्छ,’ सभापति बानियाँले भने ।

बानियाँले भ्रातृ संस्थाहरूको निर्वाचन प्रक्रिया प्रदेश, जिल्ला, क्षेत्र र वडा कार्यसमितिलाई नै दिनुपर्ने प्रस्ताव गरेका छन् ।

उनले भने, ‘भ्रातृ संस्थाको निर्वाचन प्रक्रिया टुंगाउने र भ्रातृ संस्था पार्टीको लागि हो । भ्रातृ संस्था केन्द्रको केन्द्रले बनाउने, प्रदेशले प्रदेशको बनाउने, वडाको वडा सभापतिले बनाउने, जिल्लाको जिल्ला सभापतिले बनाउनुपर्छ । भ्रातृ संस्था र पार्टीबीचको अन्तरद्वन्द्वको सम्बन्धले पार्टी कमजोर भयो ।’

सभापति बानियाँले प्रदेश सरकारले जनतामा केन्द्रित रहेर काम गर्न नसक्दा वितृष्णा उत्पन्न भएको बताएका छन् ।

उनले भने, ‘प्रदेश भनेको विकास हो । स्थानीय भनेको सेवा हो । केन्द्र भनेको पोलिसी हो । त्यो अनुसार प्रदेश चल्न सकेन । प्रदेशप्रति मानिसहरूको वितृष्णा बढ्न थाल्यो ।’

सभापति बानियाँले भने, ‘प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले गर्नुपर्ने काम ठीक ढंगले गरेका छैनन् ।’

उनले बागमती प्रदेशको बजेट राम्रो आउन नसकेको भन्दै चिन्ता जनाएका छन् । ‘बागमती प्रदेश बजेटमा अझ धेरै विवाद र समस्याबाट गुज्रिएको छ । प्रदेश कार्यसमितिले प्रदेश सरकारलाई हेर्ने बैधानिक संरचना बनाउनुपर्छ,’ उनले भने ।

‘बागमती प्रदेश सरकारको बजेट निकै त्रुटिपूर्ण छ । प्रदेशको गौरवको कुनै पनि क्षेत्र कृषि, खानेपानी, शिक्षा, स्वास्थ्यमा प्रदेशको गौरवको योजना, पूर्वधार कुनैमा पनि देखिएको छैन । अहिलेको बजेट सात वर्ष अगाडिको बजेटभन्दा पनि निरासाजनक छ । विश्वास र भरोसा जगाउने बजेट रहेन,’ सभापति बानियाँले भने ।

Published : Wednesday, 2025 July 2, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया