कांग्रेसका पूर्वसांसद यादवको निधन, देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामअयोध्याप्रसाद यादवको ७२ वर्षको उमेरमा निधन भएको छ ।

मंगलबार राति वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसद्वारा बुधबार जारी शोक वक्तव्यमा उल्लेख छ । यादव बारा कांग्रेसका पूर्व सचिव पनि हुन् ।

बाराको सुवर्ण गाउँपालिका वडा नं. २ निवासी यादव लामो समयदेखि मधुमेहबाट पीडित रहेका थिए ।

२०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं. १ बाट यादव निर्वाचित भएका थिए ।

यादवले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

‘उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको छ,’ कांग्रेसले भनेको छ ।

स्व.यादवको श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

संविधान सभा सदस्य यादवको निधनप्रति कांग्रेसका सभापति, शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

शोक वक्तव्य जारी गर्दै सभापति देउवाले भने, ‘संविधानसभा सदस्य एवं बाराका पूर्व जिल्ला सचिव रामअयोध्याप्रसाद यादवको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुखित् बनाएको छ ।’

‘स्व.यादवले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ,’ देउवाले भने ।

‘उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु,’ सभापति देउवाले भने, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।’

Published : Wednesday, 2025 July 2, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया