हरेक वर्ष राम्रो बजेट बनाउँछौँ, कमजोर कार्यान्वयनले जनता निरास छन् : कांग्रेस सांसद बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतजंग बस्नेतले बजेटको प्रशंसा गर्दै कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०८२÷८३ को विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै बस्नेतले भने, ‘हामीले हरेक वर्ष राम्रो बजेट बनाउँछौँ । कमजोर कार्यान्वयनले जनता निरास हुन्छन् ।’

उनले भने, ‘अब आवश्यक्ता छ सशक्त निगरानी, संयन्त्र, प्रगति मूल्यांकन प्रणाली र भ्रष्टाचार विरोधी स्पष्ट कार्ययोजना ।’

सांसद बस्नेतले भने, ‘सरकारले चालु आर्थिक वर्ष ४.६ को आर्थिक वृद्धिको लक्ष्य राखेको छ । जुन गत वर्ष ३.७ को भन्दा राम्रो हो । यो केवल आकांक्षा होइन पर्यटन निर्माण, कृषि, उर्जा र सेवा क्षेत्रमा पुनर्जीवन ल्याउने रणनीति पनि हो ।’

‘महामारीपछिको पुनर्स्थाना आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धनलाई सँगसँगै अगाडि बढाउने नीतिले यसलाई सम्भावना बढाउनेछ,’ बस्नेतले भने, ‘मुद्रास्फितीतर्फ ३.४ प्रतिशतमा सीमित राख्ने प्रतिवद्धताले आम नागरिकलाई जीवनयापन सहज बनाउनेछ ।’

सांसद बस्नेतले भने, ‘विदेशी मुद्राको सञ्चिति बढ्नु र भुक्तानी सन्तुलन सकारात्मक रहनुले अन्तर्राष्ट्रिय बजारमा नेपालको साख सुधारिएको संकेत गर्दछ । वित्तीय अनुशासन र पारदर्शिता कायम राख्दै सरकारले खर्चको प्राथमिकता र स्रोत परिचालन सन्तुलन ल्याउने नीति ल्याएको छ ।’

सांसद बस्नेतले भने, ‘नेपालको विकास यात्रामा केवल भौतिक पूर्वाधार र आर्थिक सचकांकमा आधारित हुनु हुँदैन । समावेशी, सवल र सशक्त नागरिक निर्माणमा हुनुपर्छ ।’

‘यसको लागि शिक्षा, स्वास्थ्य र खेलकुदलाई समान महत्व अनिवार्य पनि छ । खेलकुद युवालाई अनुशासित, स्वाबलम्वी र रचनात्मक बनाउने माध्यम हो,’ उनले भने ।

‘यो राष्ट्रिय गौरव स्वास्थ्य र रोजगारी प्रवर्द्धन, पर्यटनसँग जोडिएको विषय पनि छ,’ सांसद बस्नेतले भने ।

कांग्रेस सांसद बस्नेतले युवा तथा खेलकुद मन्त्रालयले हालसम्मकै धेरै बजेट पाएकोमा खुशी व्यक्त गरेका छन् । उनले भने, ‘खेलकुदमा ऐतिहाँसिक बजेट परेको छ । ६ अर्ब ८ करोड रुपियाँको बजेट खेलकुदमा छुट्टाइएको छ । जुन ईतिहाँसमै सबैभन्दा ठूलो हो ।’

‘यसले राष्ट्रको खेल क्षमतालाई आधारभूत सुधार ल्याउने अपेक्षा गर्न सकिन्छ,’ सांसद बस्नेतले भने ।

Published : Wednesday, 2025 July 2, 9:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया