७३ प्रतिशत मतदाताले नयाँ नेतृत्व चाहेका छन् : कांग्रेस नेतृ संग्रौला

वीपीनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौला पन्तले बहुसंख्यक मतदाताले नयाँ नेतृत्व चाहेको बताएकी छन् ।

मंगलबार वीपीनगर, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै डा.संग्रौलाले पूरक एसिया नामक गैरसरकारी संस्थाले गण्डकी प्रदेशमा गरेको एक जनमत सर्वेक्षण उद्धृत गर्दै ५४ प्रतिशत मतदाताले आगामी चुनावमा विगतभन्दा फरक दललाई भोट दिने र ७३ प्रतिशतले नयाँ नेतृत्व आएमा पुनर्विचार गर्न सक्ने बताएको उल्लेख गरिन् ।

डा.संग्रौलाले ८४ प्रतिशत जनता राजनीतिक दलहरूसँग असन्तुष्ट रहेको, ९४ प्रतिशतले दलहरूको मिलेमतोमा भ्रष्टाचार भइरहेको र ९० प्रतिशतले भ्रष्टहरूलाई दलहरूले नै संरक्षण गरेको ठान्ने गरेको बताइन् ।

हालको सरकारप्रति ९ प्रतिशत मात्रै सन्तुष्ट रहेको उक्त सर्वेक्षणले देखाएको भन्दै उनले त्यसतर्फ पनि पार्टीले ध्यान दिनु पर्ने बताएकी छिन् ।

‘मुलुकको जेठो र लोकतान्त्रिक पार्टी भएको नाताले यतातर्फ ध्यान दिएर जनताका निराशालाई आशामा बदल्न जरुरी छ,’ डा.संग्रौलाले भनिन् ।

‘कम्युनिस्ट पार्टीहरू दलाल र बिचौलियाको पकडमा छन् भने अर्को समूह लोकतन्त्र विरोधी गतिविधिमा लागेकाले नेपाली कांग्रेसले लोकतन्त्र जोगाउन सतिशाल भएर उभिनुपर्छ,’ डा.संग्रौलाले भनिन् । उनले भनिन्, ‘कांग्रेसले आफ्नो क्रान्तिकारी चरित्र बिर्सनु हुँदैन ।’

भ्रातृ संस्थाहरूको अधिवेशनमा ढिलाइ र नेता–कार्यकर्ताबीच बढ्दो दूरीका कारण पनि पार्टीलाई क्षति भइरहेको उनले बताएकी छिन् ।

उनले आगामी महाधिवेशनको मिति र कार्यतालिका तत्काल तय गर्न प्रस्ताव गरिन् । ‘पार्टी विधानअनुसार महाधिवेशन वर्षमा क्रियाशील सदस्यता वितरण बन्द हुनुपर्छ, जसलाई कडाइका साथ लागू गर्नुपर्छ,’ उनले भनिन् । मंसिरमा महाधिवेशन हुने सम्भावना कम देखिएको भन्दै उनले समयमै कार्यतालिका बनाएर संगठनलाई गतिशील बनाउनुपर्ने उनले बताएकी छिन् ।

नेविसंघ, तरुण दल र महिला संघ जस्ता भ्रातृ संस्थाहरूमा देखिएको विवाद र अधिवेशनको ढिलाइले संगठनमा गम्भीर असर परेको भन्दै केही नेतृत्वले म्याद थप्दा पनि अधिवेशन गर्न नसक्नु र पद जोगाउने चिन्ताले समस्या निम्त्याएको डा.संग्रौलाले बताएकी छिन् । भ्रातृ संस्थाहरूको अधिवेशनका लागि तत्काल कार्ययोजना बनाई समयसीमा तोकेर कार्यान्वयन गर्नुपर्ने डा.संग्रौलाले सुझाव दिइन् ।

सरकारबारे धारणा राख्दै डा.संग्रौलाले वर्तमान गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति प्रभावकारी नभएको टिप्पणी गरिन् ।

मन्त्रीहरूको कमजोर भूमिका र सबै राम्रा कामको जस प्रधानमन्त्रीलाई जाने अवस्था अन्त्य हुनु पर्ने उनले बताइन् । उनले भनिन्, ‘केही साथीहरू सधैंभरि मन्त्री भइरहने भ्रममा हुनुछन्, त्यो भ्रमबाट मुक्त हुनुहोस् ।’

पेशागत तथा बुद्धिजीवी विभागको संयोजकको हैसियतले उनले सातै प्रदेशमा संविधान संशोधनको आवश्यकताबारे अन्तरक्रिया गरेको र प्रतिवेदन केन्द्रमा बुझाइसकिएको बताउँदै नेकपा एमालेसँगको सात बुँदे सहमतिमा उल्लेखित संविधान संशोधनको विषयलाई गम्भीरतापूर्वक लिएर कांग्रेसले संसदमा नेतृत्व गर्नुपर्ने डा.संग्रौलाले बताएकी छिन् ।

आगामी चुनावमा एमाले नै मुख्य प्रतिस्पर्धी हुने भएकाले अहिलेदेखि नै संगठन निर्माणमा ध्यान दिन र सरकारमा गएका मन्त्रीहरूले पनि इमान्दारिताका साथ काम गर्न आग्रह गरिन् । उनले भनिन्, ‘मिसन २०८४ को चर्चा चुलिएको छ । के कांग्रेस एक्लै चुनाव लड्न तयार छ ? यस विषयमा गम्भीर समीक्षा हुन जरुरी छ ।’

Published : Tuesday, 2025 July 1, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया