यो सामान्य अवस्था होइन, छानविनका लागि सभामुखसँग अनुरोध गर्दछु : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ अफ पिरियडका सम्बन्धमा तोडमोड गरिएको विषय गम्भीर त्रुटि र अक्षम्य घटना भएको बताएका छन् ।

मंगलबार प्रेस वक्तव्य जारी गरेर सभापति खतिवडाले भने, ‘राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसदमा पेश गर्दा मूल मर्मलाई भत्काउने गरि तोडमोड गरिएको विषय गम्भीर त्रुटि र अक्षम्य घटना हो ।’

‘यो सामान्य अवस्था होइन,’ सभापति खतिवडाले भने, ‘यस सम्बन्धमा छानविनका लागि सभामुखसँग अनुरोध गर्दछु ।’

सभापति खतिवडाले भने, ‘कुलिङ अफ पिरियड राख्ने गरि सच्याउन राष्ट्रिय सभालाई अनुरोध गर्दछु ।’

उनले भने, ‘हामीले तयार पारेको कुलिङ अफ पिरियडको व्यहोरा यस्तो थियो– दफा ८२ को उपदफा (३) पछि उपदफा (४) थप गरि उपदफाक्रम मिलाउने– (४) निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन ।’

‘यो राज्य व्यवस्था तथा सुशासन समितिले लामो समयको छलफल पश्चात् सर्वसम्मतिले गरेको विषय हो । यसतर्फ सबैको ध्यानाकृष्ट गर्न चाहन्छु,’ सभापति खतिवडाले विज्ञप्तिमा भनेका छन् ।

Published : Tuesday, 2025 July 1, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया