एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)ले पछिल्लो समय विकसित घटनाक्रम र विवादका विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।

सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिको निगरानीमा गत मे ३/४ मा काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।

अध्यक्ष श्रेष्ठका अनुसार, पत्रकार सम्मेलन बुधबार नेपाली समयअनुसार बेलुका ६ बजे भर्चुअल माध्यमबाट आयोजना हुनेछ । पत्रकार सम्मेलनको मुख्य उद्देश्य पछिल्लो समय एनआरएनएभित्र देखिएको विवाद र अवैधानिक गतिविधिबारे स्पष्ट धारणा राख्नु रहेको छ ।

एनआरएनए प्रवक्ता गंगाधर गौतमका अनुसार, बदी केसी नेतृत्वको समूहले अवैधानिक रूपमा बालुवाटारस्थित एनआरएनएको सचिवालय कब्जा गरेको र विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूलाई फुटाउने उद्देश्यले निर्वाचित कार्यसमितिहरू भंग गर्ने कार्य गरेको छ ।

यस्ता गतिविधिले विश्वभर रहेका नेपाली समुदायमा भ्रम सिर्जना गरेको भन्दै गौतमले यस्ता कार्यप्रति आइसीसीको कडा आपत्ति रहेको बताए ।

‘केसी नेतृत्वको समूहले गरेको एनसीसी भंग गर्ने कथित निर्णयलाई हाम्रो कार्यसमितिले मान्यता दिँदैन,’ गौतमले भने, ‘उक्त पत्र खारेज गरिएको छ र हामी विश्वभरका नेपालीहरूलाई भ्रममा नपार्न आग्रह गर्छौं ।’

अध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो कार्यसमिति वैधानिक रूपमा निर्वाचित छ र हामी एनआरएनएको एकता र उद्देश्यप्रति प्रतिबद्ध छौं ।’

पत्रकार सम्मेलनमार्फत श्रेष्ठ नेतृत्वको कार्यसमितिले एनआरएनएभित्रको पछिल्लो अवस्था, अवैधानिक गतिविधि, र संगठनको भावी योजनाबारे जानकारी गराउने अपेक्षा गरिएको छ ।

विश्वभर रहेका एनसीसीहरूलाई एकताबद्ध राख्न र नेपाली डायस्पोराको हितमा काम गर्न आफ्नो प्रतिबद्धता दोहोर्‍याउने योजना रहेको प्रवक्ता गौतमले बताए ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) विश्वभर छरिएर रहेका नेपालीहरूको साझा मञ्च हो । जसले नेपाली डायस्पोरालाई एकताबद्ध गर्दै नेपालको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा योगदान पुर्‍याउँदै आएको छ ।

हालैका विवाद र नेतृत्वको विषयले संगठनको एकता र प्रभावकारितामा प्रश्न उठेका छन् । पत्रकार सम्मेलनले ती प्रश्नहरूको जवाफ दिने र संगठनको वैधानिक नेतृत्वले आफ्नो अडान स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

Published : Tuesday, 2025 July 1, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया