जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य गरौँ : परराष्ट्रमन्त्री डा.राणा

रोम । परराष्ट्रमन्त्री डा.आरजु राणाले जलवायुजन्य जोखिमलाई कम गर्न यसबाट प्रभावित राष्ट्रहरूबीच दरिलो सहकार्य आवश्यक रहेको बताएकी छिन् ।

सोमबार इटालीको रोममा राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको ४४औँ महासभा अन्तर्गत आयोजित अतिकम विकसित राष्ट्र तथा भूपरिवेष्ठित र साना टापू राष्ट्रहरूसँग सम्बन्धित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै डा.राणाले जलवायुजन्य जोखिमलाई कम गर्ने योजनामा दरिलो सहकार्यका लागि अब ढिला गर्न नहुने बताए ।

‘अतिकम विकसित, भूपरिवेष्ठित र साना टापू राष्ट्रहरू जलवायु परिवर्तनको ठूलो जोखिममा परिरहेका छन्,’ डा.राणाले भनिन्, ‘यसले ती देशमा कृषि उत्पादन र जीवीकोपार्जनमा समेत नराम्रोसँग असर गरिरहेको छ ।’

उनले भनिन्, ‘आफ्ना एजेण्डामार्फत विश्वमा सहकार्य गर्न नेपालले हालै सगरमाथा संवाद सम्पन्न गरेको छ । आगामी दिनमा सबै राष्ट्रबीच साझा एजेण्डासहित सहकार्य जरुरी छ ।’

परराष्ट्रमन्त्री डा.राणाले हिमाली राष्ट्रहरूका लागि जलवायु अनुकूलन वित्तीय सहयोग, प्रारम्भिक चेतावनी प्रणाली र ग्रामीण पूर्वाधारहरूको विकास आवश्यक रहेको बताएकी छिन् ।

उनले जलवायुजन्य जोखिमसँग जुध्न सर्वसुलभ र समावेशी उपाय सहित अन्तर्राष्ट्रिय लगानी र क्षमता विकासका काम अपरिहार्य रहेको बताएकी छिन् ।

डा.राणाले भनिन्, ‘प्रविधि, सहकार्य र ऐक्यबद्धताले मात्र सम्भावना र उपलब्धि बीचको खाडललाई पुर्न सक्नेछ । नेपालले दक्षिण–दक्षिण र उत्तर–दक्षिण सहयोग प्रवर्द्धन, प्रविधि स्थानान्तरण, बजारमा विस्तार तथा वित्तीय स्रोतमा पहुँचका लागि सदैव आग्रह गर्दै आएको छ ।’

परराष्ट्रमन्त्री डा.राणाले अहिले नेपालसहितका यी देशहरूले खाद्य असुरक्षा, कुपोषण, जलवायु परिवर्तन जस्ता साझा संकटको सामना गरिरहेका र यसले प्राप्त उपलब्धिलाई पनि खतरामा पारिरहेको बताएकी छिन् । डा.राणाले नेपालले जलवायुजन्य विपद्, कमजोर पूर्वाधार, जैविक विविधताको क्षय, प्रविधि तथा वित्तमा सीमित पहुँचजस्ता बहुआयामिक चुनौतीको सामना गरिरहेको बताइन् ।

एफएओद्वारा अघि सारिएको फोर बेटर अर्थात राम्रा चार जस्तै राम्रो उत्पादन, राम्रो पोषण, राम्रो वातावरण र राम्रो जीवनले कृषि प्रणालीमा रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएकी छिन् । उनले राम्रो उत्पादन अन्तर्गत नेपालले जलवायुमैत्री खेती प्रणाली, पहाडी क्षेत्रमा बढीमूल्यका बाली र स्थानीय नवीनता तथा कृषिमा आधुनिकीकरण गरिरहेको र राम्रो पोषण अन्तर्गत विशेष समुदाय लक्षित पोषिलो खाद्यान्न प्रवर्द्धन गरिरहेको बताइन् ।

राम्रो वातावरण अन्तर्गत नेपालले पुनःप्रजनन कृषि, माटो तथा जल र जैविक विविधता संरक्षणमा प्राथमिकता दिएको र राम्रो जीवनतर्फ महिला, युवालगायत साना किसान तथा सीमान्तकृत समुदायलाई उद्यमशीलता, सामाजिक सुरक्षा, ग्रामीण पूर्वाधार र सेवामा पहुँच विस्तार गरेर जीविकोपार्जनमा सुधार ल्याएको डा.राणाले बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले कृषि क्षेत्रमा नेपालमा ६० प्रतिशतभन्दा बढी जनशक्ति संलग्न रहेको र राष्ट्रिय उत्पादनमा कृषिको २३ प्रतिशत योगदान रहेको बताएकी छिन् । उनले कृषि रोजगारीको माध्यम मात्र नभई पोषण र जीवनयापनको माध्यम भएको पनि बताएकी छिन् ।

Published : Monday, 2025 June 30, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया