एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अवैधानिक भइसकेको बद्री केसी र गौरीराज जोशीले पठाएको पत्रलाई खारेज गरिदिएको छ ।

एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा आइतबार बसेको पूर्ण बैठकले निर्वाचित कार्यसमितिलाई भंग गर्ने भनिएको पत्रलाई अवैधानिक ठहर गर्दै खारेज गरिदिएको हो ।

बैठकले संस्थाकै केही व्यक्तिले समानान्तर गतिविधि गरेको भन्दै उनीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । स्पष्टीकरण नदिए बर्खास्त गरिने निर्णय पनि बैठकले गरेको अध्यक्ष सापकोटाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, एनसीसी बेल्जियमको साधरणसभा अगष्ट १७ र चुनाव अगष्ट २५, २०२५ मा गर्ने निर्णय भएको कार्यवाहक महासचिव राजेन्द्रकुमार कार्कीले जानकारी दिए । बैठकमा अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष लोकप्रसाद दाहाल, प्रवक्ता गंगाधर गौतम, युरोप संयोजक प्रेम गुरुङ, मध्यपूर्व संयोजक रमेश श्रेष्ठ, पूर्व अध्यक्षद्वय जानकी गुरुङ, चित्र सुवेदी लगायतको सहभागिता थियो ।

संघको केन्द्रीय कार्यालय कब्जा गरेर बसेको बद्री समूहले एनआरएनएलाई फुटाउने उद्देश्यले निर्वाचित र स्वायत्त एनसीसीहरू भंग गरिएको भनी पत्र पठाएकोमा संसारभरि रहेका एनसीसीहरूले कडा निन्दा र आलोचना गरेका छन् ।

Published : Monday, 2025 June 30, 2:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया