प्रहरी हुँ भनेर धम्काएको भिडियो हात परेपछि महतो पक्राउ

बर्दिवास । जिल्ला प्रहरी कार्यालय, महोत्तरीले २९ वर्षीय कृष्णकुमार महतोलाई पक्राउ गरेको छ ।

महतोलाई असार १२ गते प्रहरी टोलीले महोत्तरीको बलवा नगरपालिका वडा नं. ४ परौल, तिलगढस्थित आफ्नै घरबाट नियन्त्रणमा लिएको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

महतोले ‘आफू प्रहरी हुँ, जिल्ला प्रहरी कार्यालय, जलेश्वरमा कार्यरत छु, गोली हानी मार्दिन्छु’ भनेर स्थानीय व्यक्तिलाई धम्की दिई त्रास देखाएको भन्ने समेत बेहोराको भिडियोको दृष्य प्राप्त भएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सोही भिडियोमा देखिएको दृष्यको आधारमा धाकधम्की दिने व्यक्तिको खोजतलास गर्दै जाने सिलसिलामा धम्की दिने व्यक्ति महतो रहेको पहिचान भएको थियो ।

महतो आफ्नै गाउँको घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

महतोलाई अभद्र व्यवहार शीर्षकमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यलय महोत्तरीबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published : Monday, 2025 June 30, 11:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया