२१ वर्षदेखि फरार पूर्णबहादुरलाई पाल्पाबाट खटिएको प्रहरीद्वारा नेपालगञ्जमा पक्राउ

तानसेन । जिल्ला प्रहरी कार्यालय, पाल्पाले सासु आमाको हत्या गरी फरार भएका अभियुक्त ६६ वर्षीय पूर्णबहादुर सार्कीलाई पक्राउ गरेको छ ।

सार्कीलाई २१ वर्षपछि पक्राउ गरेको पाल्पा प्रहरीका प्रमुख (एसपी) पवनकुमार भट्टराईले बताएका छन् । पूर्णबहादुर सार्की भारतबाट नेपाल फर्कन लागेको भन्ने सूचना पाउनेवित्तिकै पाल्पाबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ स्थित भन्सार अगाडि फेला परेर पक्राउ गरेको भट्टराईले बताए ।

पूर्वखोला गाउँपालिका–१ गुनडाँडाका सार्कीलाई पक्राउ गरेको एसपी भट्टराईले बताए । सार्कीले २०६१ असार १९ गते सोही ठाउँकी ५५ वर्षीया चिनिसरा सार्कीको हत्या गरी फरार भएका थिए । प्रहरीका अनुसार अदालतबाट पनि दोषी ठहर भएका पूर्णबहादुर भारतमा लुकीछिपी बस्दै आएका थिए ।

पूर्णबहादुर सार्कीमाथि थप अनुसन्धान कार्य अगाडि बढाएको एसपी भट्टराईले बताए । पूर्णबहादुर सार्की उपर मुलुकी ऐन, २०२० को ज्यान सम्बन्धी महलको १ नं. बमोजिम ज्यान सम्बन्धी कसूरमा पाल्पा जिल्ला अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा १४(१) बमोजिम दिन ५ म्याद लिइ जिल्ला प्रहरी कार्यालय, पाल्पाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Thursday, 2025 June 26, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया