सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरूको सम्मेलन समापन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपतको बेला सशस्त्र प्रहरी बल नेपालका महत्वपूर्ण जिम्मेवारी रहने भन्दै पूर्वतयारीहरू गर्न निर्देशन दिएका छन् ।

बिहीबार काठमाडौंको स्वयम्भु, हलचोकस्थित हेडक्वाटरमा आयोजित वरिष्ठ अधिकृतहरूको समापन सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विपतका बेला सशस्त्र प्रहरीबाट भएको कार्यप्रगतिको प्रशंसा गरेका हुन् ।

अहिले विपतको समय रहेकाले सबै शक्ति प्रयोग गरेर विपतमा परेका नागरिकको उद्धार र राहतमा खटिनुपर्ने उनले बताए । लेखकले विपतका घटना हुँदा तत्काल पुगेर उद्धार गर्दै आएको सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारीलाई बहन गर्ने विश्वास लिएको बताएका छन् ।

गृहमन्त्री लेखकले सीमा इलाकामा तस्करी नियन्त्रण गर्न पनि निर्देशन दिएका छन् । उनले संगठनलाई अझै सशक्त रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

‘वरिष्ठ अधिकृत सम्मेलन–२०८२’ असार ११ र १२ गते दुई दिन सञ्चालन भएको थियो । प्रत्येक वर्ष एसएसपीहरूभन्दा माथिका वरिष्ठ अधिकृतहरूको सम्मेलनमा सहभागी हुने गरेको छ ।

सम्मेलनमा सशस्त्र प्रहरीका लागि सुझावहरू संकलन, सीमा, प्रशासन, अप्रेशन लगायतका विषयमा केन्द्रित भएर छलफल भएको एक उच्च अधिकृतले बताए ।

सम्मेलनमा १२ जनाले प्रस्तुतीकरण गरेका छन् । संगठन सुधार र समस्या पहिचानमा सम्मेलनले सहयोग गरेको ती अधिकृतले बताएका छन् ।

Published : Thursday, 2025 June 26, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया