लुम्बिनीमा भुटानी बौद्ध गुम्बा निर्माणका लागि नेपाल र भुटानबीच लिज सम्झौता

लुम्बिनी । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटानी बौद्ध गुम्बा निर्माण गर्न नेपालस्थित लुम्बिनी विकास कोष र भुटान सरकारको गृह मन्त्रालयबीच लिज सम्झौता सम्पन्न भएको छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ्ग) र भुटानको शाही सरकारका गृहसचिव सोनम वांग्येलद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बताए ।
उनको अनुसार सम्झौता अनुसार लुम्बिनीको निर्धारित क्षेत्रभित्र शान्तिका अग्रदूत बुद्धको जन्मस्थलमा शान्ति र धर्मप्रति भुटानी सरकारको योगदानस्वरूप रोयल भुटानी बौद्ध मोनास्ट्री निर्माण गरिनेछ ।
सम्झौता पत्रमा दुबै पक्षले हस्ताक्षर गरेसँगै ऐतिहासिक सम्बन्धको नयाँ अध्यायको सुरुवात भएको बताइएको छ ।
काठमाडौंस्थित डुसिट प्रिन्सेस होटलमा आयोजित कार्यक्रम लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. लामाको नेतृत्व रहेको थियो । उनले सम्झौतालाई दुई राष्ट्रबीचको धार्मिक, सांस्कृतिक र कुटनीतिक सम्बन्ध थप प्रगाढ बनाउने अवसरका रूपमा बताए ।
उपाध्यक्ष डा. लामाले लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध समुदायका लागि आस्थाको केन्द्र बनाउने उद्देश्यसहित लुम्बिनीमा विभिन्न मुलुकको बौद्ध सम्पदास्थल स्थापना भइरहेका बेला भुटान सरकारको सहयोग ऐतिहासिक कदम भएको बताए ।
भुटानी बौद्ध गुम्बा निर्माणले लुम्बिनीको धार्मिक विविधता र समावेशीपनमा थप उचाइ दिने विश्वास व्यक्त गरेका छन् ।
भुटान सरकारको तर्फबाट गृह मन्त्रालयका उच्च अधिकारीहरूले लुम्बिनीमा गुम्बा निर्माण गर्ने अवसर पाएकोमा आभार व्यक्त गर्दै यसले भुटान र नेपालबीचको पारम्परिक मित्रता अझ बलियो हुने धारणा व्यक्त गरेका छन् ।
सम्झौता समारोहमा नेपाल सरकार, भुटानी प्रतिनिधिमण्डल, लुम्बिनी विकास कोषका पदाधिकारी, बौद्ध धर्मगुरुहरू, कुटनीतिक क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
लुम्बिनी विकास कोषले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको महत्व विस्तार गर्ने क्रममा विभिन्न मुलुकसँग सहकार्य गर्दै आएको छ ।
भुटानी गुम्बाको निर्माण कार्यले शान्ति, करुणा र बुद्धका शिक्षाको विश्वव्यापी सन्देशलाई अझ फैलाउने अपेक्षा गरिएको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया