रातोमाटेबाट ठूलो परिमाणमा लागुऔषधसहित ३ भारतीय पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध सहित ३ जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ ।

बुधबार बिहान प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकप्वाईन्टबाट ३ जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । पूर्व पश्चिम महेन्द्र राजमार्गमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा भारतको मोतीहारीबाट काठमाडौंतर्फ जान लागेको भारतीय कारमा लागुऔषध बरामद भएको हो ।

पक्राउ पर्नेमा कार चालक बिहार राज्य, मोतीहारी जिल्ला पंचमिडिया बस्ने वर्ष २६ का उपेन्द्र यादव, सोही स्थान बस्ने वर्ष २२ का संजितकुमार यादव र सोही स्थानमा बस्ने वर्ष ३५ का सिकिन्दर महतो रहेका छन् ।

खानतलासी गर्ने क्रममा कारको सिटमुनी र पछाडिको डिकीभित्र फल्स बटम बनाई लुकाईछिपाई राखी ल्याइएको अवस्थामा लागूऔषध बरामद भएको छ ।

थर्माडोल २५,४५५ क्यापसुल र वनरेक्स १२० बोतल बरामद भएको मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।

पक्राउ परेकाहरूविरुद्ध लागूऔषध कसूर मुद्धामा थप अनुसन्धान कार्य भइरहेको छ ।

Published : Wednesday, 2025 June 25, 3:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया