इजरायल र इरानमा यात्रा नगर्न परराष्ट्र मन्त्रालयको आग्रह, दूतावाससँग सम्पर्क गर्न अनुरोध

काठमाडौं । परराष्ट्र मन्त्रालयले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा नगर्न आग्रह गरेको छ ।

बुधबार परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्दै इजरायल र इरानबीच द्वन्द्व बढेकाले त्यस क्षेत्रको भ्रमण, ट्रान्जिट वा कामको लागि जाने तयारी गरिरहेकालाई हालको संवेदनशील अवस्थालाई ध्यानमा राखी योजना स्थगित गर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘हालको असहज परिस्थितिमा इजरायल वा इरान बाहेकका मध्यपूर्वीय मुलुकतर्फको भ्रमण तथा वैदेशिक रोजगारीका लागि जान लागेका नेपाली नागरिकहरुले पनि यात्रा स्थगन गर्नु उपयुक्त हुनेछ ।’

परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल इजरायल र इरानबीच द्वन्द्व बढेकाले त्यहाँ रहेका नेपाली नागरिकहरूले सुरक्षाको पूर्ण ध्यान दिन, सम्भव भएसम्म भिडभाडयुक्त ठाउँमा नजान र स्थानीय सुरक्षासम्बन्धी निर्देशनको पालना गर्न अनुरोध गरेको छ ।

आवश्यक भएमा त्यहाँबाट निस्कन समेत सल्लाह दिइएको छ । इजरायल र इरानमा कार्यरत वा अध्यनरत नेपाली नागरिकहरूलाई निर्धारित समय बाहेक बाहिर ननिस्कन, दूतावास राजदूतावासको सम्पर्कमा रहन र नियमित रुपमा सार्वजनिक सूचना तथा सल्लाहहरू अनुगमन गर्न भनिएको छ ।

इजरायल तथा इरान जाने तयारीमा रहेका नेपाली नागरिकहरूले हालको अवस्था ध्यानमा राखेर यात्रा योजनालाई पुनरावलोकन गर्न सुझाव दिइएको छ ।

Published : Wednesday, 2025 June 18, 11:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया