परराष्ट्रमन्त्री डा.राणाद्वारा फ्रन्ट डेस्कमा बसेर काम गर्ने राष्ट्रसेवक कर्मचारीहरूको प्रशंसा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जेडिएका सेवा प्रदान गर्ने काममा राष्ट्रसेवकहरू संवेदनशील र जिम्मेवार बन्नुपर्ने बताएकी छिन् ।

शनिबार धनगढीमा राहदानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै डा.राणाले भनिन्, ‘राहदानी अब नागरिकको कुनै विलासिताको बस्तु नभएर प्रत्येक नागरिकको आधारभूत अधिकार भएको छ ।’

‘त्यसैले यो सेवा दिने कार्यालयको फ्रन्ट डेस्कमा बस्ने तपाईहरू सबैभन्दा जिम्मेवार व्यक्ति हुनुहुन्छ,’ डा.राणाले भनिन्, ‘सेवाको आवश्यकता र जनताका खाँचोलाई हेरेर गम्भीर भइदिनु होला ।’

परराष्ट्रमन्त्री डा.राणाले यस्तो संवेदनशील सेवा दिने ठाउँमा बसेका कर्मचारीहरूले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र के कसरी उनीहरूलाई छिटोछरितो, सहज सेवा दिन सकिन्छ भनेर सोच्नुपर्ने सुझाव दिएकी छिन् ।

अझ सुदूरपश्चिम तथा दुर्गम जिल्लामा दिइने सेवालाई त झन् कसरी सहज र नागरिकको पहुँचयोग्य बनाउने भन्ने बारेमा सरकार प्रयत्नशील रहेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘राहादानी लिनका लागि पहिलेजस्तो जटिल अवस्था अहिले छैन । तर, पनि सेवा प्रदान गर्ने समय र वितरणका क्रममा केही समस्या आउने गरेका मैले सुनेकी छु ।’

‘सरकारी सेवा जतिसक्दो चाँडै पाइयोस् भन्ने अपेक्षा जनताले राख्नु स्वाभाविकै हो । यसै बमोजिम सेवालाई सरल, सहज र पहुँचयोग्य बनाउनु सरकारको कर्तव्य हो र यसका लागि तपाईहरूकै भूमिका बढी रहन्छ,’ डा.राणाले भनिन् ।

परराष्ट्रमन्त्री डा.राणाले राहादानी सम्बन्धी वर्तमान सेवालाई दुर्गम जिल्लाहरूका नागरिकलाई अझ सहज र पहुँचयोग्य कसरी बनाउने भनेर सरकारलाई सुझाव दिन आग्रह गरेकी छिन् ।

उनले भनिनन्, ‘पासपोर्टमा जनतालाई परेका समस्या र त्यसमा गर्न सकिने सुधारका लागि तपाईहरूले सरकारलाई सुझाव दिन सक्नुुहुनेछ । त्यसमा सरकारले समयानुकुलु सुधार गर्दै लैजानेछ ।’

Published : Saturday, 2025 June 7, 12:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया